Monday, May 25, 2020

"रानीसाब" - अन्तिम भाग

ईश्वरको प्रसाद सरह दुई नातिनीहरुलाई माने पनि गरिमाको सासूभित्र एउटा नाति काखमा खेलाउने भित्रि लालसा थियो नै। घरको चार भित्ताभित्र नातिको आवश्यकता गुञन्थ्यो तर घरका भित्ता छेडेर त्यो आवाज कहिल्यै बाहिर पुगेन। सन्सारका लागि मेजर साबको परिवार एउटा आदर्श परिवार थियो। "न दाइजोको लोभ, न बंश टिकाउने नातिको आश" - सार्है असल परिवार भनेर छरछिमेक कुरा गर्थे। घरभित्र गुंजिने "छोरा, नाति" को चाहना गरिमाको लागि बोझ बन्दैथियो तर पनि उनले ती आवाजलाई प्रतिकार गर्न सकिन। ती आवाज आफ्ना दुई छोरीहरुमाथि अन्याय हो भनेर बुझ्न सकिन। ती आवाज आफ्नै मातृत्वको अपमान हो भनेर सोच्ने विवेक गरिमामा थिएन। त्यो विवेक आओस पनि कसरी - यत्तिका वर्षमा ऊ त संस्कारी गृहिनीमा रुपान्तरण भैसकेकी थिई।

दोहोरो बोल्नु वा सवाल जवाफ गर्नु गरिमाको संस्कार थिएन।

आमाजू र भाउजूले गरिमालाई झारफुक गर्न कसकोमा लगेनन्, कुन पाठपूजा गराएनन्। तर गरिमाको गर्भमा छोरो बसेन। रिटायर भएका श्रीध्वज जरसाबकी रानीसाबकी डाक्टर बहिनीले अवैध अल्ट्रासाउण्ड गरेर पटक पटक छोरीको हत्या गरिमाको गर्भमै भ्रुण अवस्थामै गराइन। तर कैयौ उपाय अनि लाख कोशिश गर्दा पनि गरिमाको गर्भमा छोरो बसेन।

मेजरसाब करसाबमा पदोन्नति भए। गरिमा रानीसाब भई। तर अहँ! गरिमाले करसाबको बंश चलाउने छोरो दिन सकिन। कुनै अज्ञात रोगले विस्तारै गाज्दै लगे सरी ऊ भित्र कही कतै नमिठो दुख्न शुरु गर्दैथ्यो। शरिरको अंग प्रत्यंगका दुख त गरिमाले शायद ठम्याउथि होला, शायद त्यसको औषधी मुलो गर्न ऊ जान्थि होला। तर, भित्र जे दुखिरहेको थियो, त्यो उनको मन थियो। त्यसको औषधी खोज्न जानु कहा?  

आफूभित्रका दुखाईलाई बेवास्ता गर्दै दैनिकी र व्यबहारमा गरिमा अभ्यस्त हुदै गई।

केही दिनदेखि गरिमाकी जेठी छोरी निदाउरी रहन लागेकी थिई। १४ वर्षकी ऊ पढाईमा निकै राम्रो थिई। स्कूलमा ऊ सबकी प्यारी थिई। आंगनका फूलहरुको स्याहार सुसार गर्न ऊ निकै मन पराउथी। ऊ प्रकृतिमा सार्है रमाउथि। तर अचानक उसमा नैराश्यता छाउन थालेको थियो - न उनि कसैसंग राम्रो कुरा गर्थिन, न बाहिर फूल प्रकृतिमा घुल्थिन्। करिब दुई हप्ता देखि उसलाई नियालिरहेकी गरिमालाई छोरीको बदलिएको व्यबहारले उकुसमुकुस बनाइरहेको थियो। भक्खर युवा अवस्थामा पुगेकी छोरीलाई सोध्यो भने शंका गरेको भनेर उल्टो रिसाउने पो हो की”? अनेकन मनोवादका बिच शनिवारको दिउसोको समय पारेर गरिमाले छोरीलाई मुखै फेरेर सोध्छु भनेर ठानि।

छोरी महारानी, तिम्रो स्कूल त राम्रै चलिराख्या छ? तिम्ले बाहिर बगैचाको फूल नहेरेर कस्तो झारपात आएर नराम्रो भईसक्यो हेर त! उता भृकुटी मण्डपमा फूल मेला लागेको रैछ, आज दिउसो किन्न जाउला है?” गरिमाले यति भन्दा भन्दै छोरीको मुख घोप्टिएर झण्डै घुडामै पुग्न लागिसकेको थियो। छोरी, तिमी खुशी त छ्यौ? तिम्लाई के भाको छ भनन, बा! तिमी खुशी त छ्यौ? तिमीलाई कसैले केही पो भन्यो कि? ममिलाई भनन महारानी। केही बोलन, बाबा"।

गरिमाको सामिप्य र मायालु पाराले छोरीलाई पगाल्न धेरै बेर लागेन। ज्वालामुखी फुटेर लप्का लप्का लाभा निस्किएझै उनका आंखाबाट ढिक्का ढिक्का भएर आँशू वर्षिए। गरलम्म गरिमालाई अङ्गालो हालेर छोरी आफ्ना रोदनलाई आफैभित्र थिचेर बेस्सरी रोई। अचानक छोरीको त्यो अवस्थाले गरिमा अकमक्क परि। सोच्दै नसोचेको यो के हुदैछ, के भयो छोरीलाई भनेर गरिमा आत्तिइ। कसले के गर्यो मेरो बाबालाई?” उनको मुटु गाठो परेर आयो। सोच्न नसकेर टाउको माथि सय मनको भार कसैले ह्वात्त राख्देको जस्तो भयो। हजारौ बेदना तछाडमछाड गर्दै उनि भित्र उर्लेर आए। २०१३ सालमा केदारनाथको बाढी गरिमाले टिभीमा मात्र देखेकी थिई, आज त्यस्तै बाढी प्रतक्ष्य आफैभित्र ऊ महशुस गर्दै थिई।

छोरी, मेरी महारानी, के भयो? भनन बा"! केही सम्हालिदै गरिमाले फेरि सोधि।

ममी, कमल अन्कल! मलाई कमल अन्कल मन पर्दैन। हजुरहरु बैठक कोठामा कुरा गरेर बसिरहदा कमल अन्कल हाम्रो कोठामा आइसिन्थ्यो। मलाई कमल अन्कलले नराम्रोसंग छोइसिन्थ्यो। हिजो हामी सबजना कमल अन्कलको घरमा गएको बेलामा, ह्वाले मलाई कोठामा बोलाइस्यो……”

यत्ति सुन्दासाथ गरिमाका कान टिनिनिनि……. एकहोरो बजिरहे। उनलाई सारा शरिर गर्हुङ्गो भएर पैतालाले भुईं छेडेर आफै पातालभित्र भित्र भासिदै ग​ए जस्तो भयो। ठूलो मैदानमा जोरको हावाले हुत्त्याएर गोल गोल घुमाउदाको जस्तो उनको शरिर लोलिएर आफ्नै वजन थाम्न नसक्ने भयो। छोरीले के भनि, कसो भनि गरिमाले सुन्न सकिन - उसका कान बज्न छोडेनन्। कान टिनिनिनि…….बजिरहे। ऊ करिब करिब बेहोसीकै हालतमा छोरीको कोठाबाट बाहिरिई।

त्यो दिनभर गरिमा कोठाबाट बाहिर निस्किन। सन्चो भएन होला भनेर सासूले अर्दलीलाई खाजा बनाउन लगाएर खाइन्। शनिवारको दिन पनि करसाब उही कमल जरसाब र चाँदनी रानीसाबका पुगेका थिए। करसाबलाई  चाँदनी रानीसाब खूब मनपर्न थालेकी थिइन्, चाँदनी रानीसाब लाई पनि त्यस्तै! शायद यही बदलिदो सम्बन्धको भनक कमल जरसाबलाई परिसकेको थियो। गरिमाकी निर्दोष छोरीले शायद त्यही जन्म हुन लागेको अवैध सम्बन्धको बदला भोगेकी थिइन्।

घण्टौपछि गरिमा कोठाबाट बाहिर निस्की। भान्छासम्म पुग्दा उस्लाई कही आफूले सपना देखेको त हैन भन्ने लाग्यो। "सपना नै होस्, होला"? खंग्रिएको पाखुरामा एकचोटी चिमोटेर पनि हेरि। अह! त्यो के सपना हुन्थ्यो र! आँशूका बलिन्धरा झार्दै गरिमाले कुरो सासू-ससूरालाई सुनाइ। घाममा सुकाउदा सुकाउदा खुइलिएको कपडा जस्तै सासू-ससूरा दुवैको अनुहारको रंग उड्यो, ओठ सुक्खा भए। आगोको भुङ्रोमा परेजस्तो गरि पूर्पूरोमा हात लगाएर सासू रुन लागिन्। आफ्नो छाती सुम्सुम्याउदै ससूराले बोले - "मेरो छाती फुट्ला जस्तो पो भो"।

"कमल जरसाब त सार्है राम्रा मान्छे, त्यसो गर्लान र? आजसम्म कसैको मुखबाट उनको बारेमा नराम्रो सुनेको छैन। बुहारी तिम्ले नातिनिलाई राम्ररी सोधेकी हौ त?", ससूराले यसरी सोध्दा सासूले हल्का समर्थन गरेझै मुन्टो हल्लाइन्। गरिमाले सासू-ससूरालाई बर्षौदेखि श्रद्दा र सम्मानको भेटी चढाएकी थिई, ठाडो शिर गरेर कहिल्यै बोलेकी थिइन। सासू-ससूराको त्यो एक प्रश्नले उनले आफू उभिएको धरातल भेटि। सासू-ससूराको सोचको यथार्थ एकाएक गरिमाको सामुन्ने उन्लाई नै खिस्याएझै गरेर समयले टिगंरिग्रं उभ्याइदियो।

हो, समय बलवान छ!

चाँदनी रानीसाबको घरमै डिनर गरेर करसाब राति ११ बजे मात्र फर्के। मुटुमा बटारिएको गाठो खोल्दै गरिमाले आँशूका भेल बिच करसाबलाई सबिस्तार लगाई। यी सब सुनेर रिसले आगो होलान भन्ठानेकी थिई गरिमाले, करसाब त उल्टो खनिए, "जे मनलाग्यो त्यही नभन है, यस्तो कुरा पनि यति सस्तोसंग भन्ने? कमल जरसाबलाई नराम्रो भन्ने मान्छे हाम्रो सारा आर्मिमै छैन। छोरीलाई राम्रोसंग सोध्या हो तिम्ले? जरसाब त्यस्तो हुनै सकिबक्सन्न यस्तो नीच आरोप लाउने? म छोरीलाई भोलि बिहान आफै सोध्छु। मेरो प्रमोशनको सवाल छ, यस्ता वाहियात कुरा नगर गरिमा"! उनले यसरी ठोकुवा गरेर भनेकी मानौ उनले आफ्नै छोरीलाई भन्दा ब​ढी जरसाबलाई चिनेका थिए। उनलाई आफ्नै प्रमोशनको फिक्रि थियो।

हर बर्ष आफैले रट्याएका स्वस्थानी ब्रत कथाका राक्षसी पात्रका दाह्रा जस्ता पितृसत्ताका दाह्राहरु गरिमालाई बिचमा पारेर ताण्डव गर्दै थिए। उन्ले त्यस प्रवृत्तिका ताण्डव न पहिले रोक्ने प्रयास गरेकी थिई, न आज नै केही गर्न सकी। ती ताण्डव गरिमाको दैनिकी बनिसकेको थियो। उन्लाई पितृसत्ताका नियमहरु प्राकृतिक लाग्थ्यो, आज पनि त्यही लाग्यो।

सयौ सुइराले एकसाथ घोचेजस्तो भएको थियो गरिमालाई। ऊ त्यो रातभर पिडामा छटपटाइरही। उनका आँखामा आँशू सिद्दिएर रित्तो भएको थियो। तातो फलामलाई लोहारले चुट्दा चुट्दा गालेको जस्तो मनका घाउले उनको शरिर सिथिल बनायो। उनका आँखामा निन्द्रा छाएन, बरु शून्यताले उनलाई निल्यो। त्यही शून्यतालाई चिर्दै रात छ्ल्ने प्रयास गर्दैथिई, झल्यास्स शून्यताको अर्को शिरानमा उनले दिक्षा देखि। हो, उही दिक्षा जसको मित्रतालाई उसले जानि जानि बर्षौ पहिले आफैले पन्छाएकि थिई।

बाह्र पढदासम्म गरिमा र दिक्षा उस्तै उस्तै थिए। पढाईको होस या बिचारको मापनमा दुबै प्रगतिशील थिए, दुबै अव्वल थिए। तर एउटै माटो, हावापानीमा उम्रेका दुई रुख हुर्किदासम्ममा त दुई थरि जस्ता भए। सानैमा निमोठेर कुनै कलात्मक बस्तु जस्तो गरिमा बिहेपछि घरमा सजाउने कलात्मक सो पिस भएकी थिई। उनका कालिगढले उनलाई जस्तो रुपमा ढाले, ऊ त्यस्तै रुपमा परिणत भई। उनका इन्द्रियहरु निष्क्रिय भए - बोल्ने, देख्ने, सुघ्ने शक्ति कमजोर हुदै गयो। दिक्षाले भने आफ्लाई तिखार्दै लगि। उन्मुक्त्त वातावरणमा, कुनै रोकटोक, संकोच बिना ऊ बढ्दै गई। आजको दिनमा दिक्षा दह्रो गरेर उभिएकि थिई। गरिमालाई भने आजको दिनमा उभिनलाई पनि थांग्रो चाहिने भएको थियो।

फेरि गरिमाको मनले अर्को तर्कना गर्यो। छोराको आशमा उनले कैयो निर्दोष छोरीहरुको आफ्नो गर्भमा हत्या गरेकी थिई। समाज र घर परिवारको नाममा ती छोरीको हत्यामा ऊ आफै संलग्न थिई। देवकीका सन्तानलाई त कंशले जन्म सम्म दिन सक्ने व्यबस्था गरेका थिए। करसाबको खलकमा त ती छोरीहरु गर्भमै तुहाइएका थिए। " ती नजन्मिएका छोरीहरुको पापले कही कतै करसाबको बंशलाई नै त पोल्ने होइन? नजानेर गरेको गल्ती र पापलाई पूजा पाठ गरेर पखाल्न सकिएला तर उनिहरुले त हत्या जस्तो महापाप जानि-जानि, केलाइ-केलाइ गरेका थिए। भन्छ्न महापापले त बंशलाई नै पिरोल्छ। के साच्चै त्यस्तै हुने संकेत त हैन यो कही?" पश्चाताप मिसिएको आफ्नै तर्कनाले गरिमालाई अझै असैह्य हुने गरि पोल्यो।

कुनै दिन धप धप बलेर सबलाई उज्यालो दिने गरिमा त्यो रात भित्रभित्रै जल्दै थिई। ऊ भित्रभित्रै मन्द मन्द डढेलो सुल्गिरहेको थियो। बल्दा बल्दै दियोको तेल रित्ति​दै गएझै गरिमा भित्रको आत्मविश्वास र साहस पनि खरानी बन्दैथियो। बाहिरको तापले भन्दा आफूभित्रको खरानीले उनलाई ब​ढी पोलिरहेको थियो।

बिहानको पहिलो प्रहरमै छोरीको कोठामा हान्निइदै पुगि गरिमा। ढोका खोल्ने बितिक्कै उनले जुन दृष्य देखिन्, त्यसले उनको आत्मालाई नै कम्पायो। कलिलो उमेरमा गरिमाकी छोरीले डोरीमा पासो हालेर आत्महत्या गरेकी थिई। हुत्तिएर छोरीको खुट्टा समाउन पुगि ऊ। छोरीका चिसा खुट्टाले गरिमाका हात र मुटु चिसा बनाए!

समाप्त!

Saturday, May 16, 2020

"रानीसाब" - भाग २


चाँदनी रानीसाबको तीजको दर अझै ३ दिन पर थियो। तर गरिमालाई चाँदनी रानीसाब कस्ती होलिन्, तिनी कस्ता घरमा बस्दिहुन्, के खादिहुन्, कस्ता लुगा लगाउदिहुन् भन्ने कुरा जान्ने व्यग्रताले गाज्यो। "किन करसाबकी श्रीमती म्याडम वा दिज्यू वा अन्य अरु केही सम्बोधनले बोलाइनन् होला? किन र कसरी तिनी रानीसाब भइन् होला?" भात तिहुन, घरधन्दा सिद्दिने बितिक्कै गरिमा यस्ता प्रश्नका उत्तर खोज्न पुगिहाल्थिन्। बचेरोलाई माऊ चराले ल्याउने आहाराको हुटहुटीले सताए जस्तै उनलाई चाँदनी रानीसाबसङ्ग कहिले भेटु, कहिले बोलु झै भैरहेकोथ्यो। सोच्दा सोच्दै ऊ आफू स्कुलमा पढेका इतिहासका पाना पल्टाउन थाली। भारतीय फिल्ममा चित्रण गरिएका रानीहरु उसका आखाँ अगाडि सचित्र छाउन थाले।

इतिहासका रानीहरु देशभक्ति, मातृभूमि रक्षा, राष्ट्रहित र आत्मगौरवले सर्वोपरि भएका महान नारीहरु थिए। राज्यलक्ष्मी हुन, लक्ष्मीबाई, जोधाबाई या भृकुटी हुन्, ती अतुलनिय विराङ्गना रानीहरु थिए। रणकौशल र कुटनितिमा पोख्त हुनुका साथसाथै ती रानीहरु जुझारु, संघर्षशील र आत्मबलका अद्भुत क्षमताका प्रतिमूर्ति थिए। राजनितिको गोटीका रुपमा चालिएकी भृकुटीले  अन्जान देश अनि नया परिवेशमा रहेर पनि बौद्ध धर्म, नेपाली कला र संस्कृति तिब्बतमा फैलाएर सारा नेपालीलाई गौरान्वित बनाएकी थिइन। रानी लक्ष्मीबाई राजनिति र कुटनितिमा कुशल त थिइन नै, उनि अस्त्र-शस्त्रमा पनि पारङ्ग्त थिइन्। पुरुषसत्तात्मक युगमा नारीहरुलाई अबला निर्बला आदी मानकका रुपमा चिनाउने प्रचलन त थियो नै तर पनि त्यस्तो समयमा समेत यी नारीहरु पुरुषहरुभन्दा धेरै कदम अगाडि थिए। उनीहरु कुनै राजाले बनाएका रानी थिएनन्; उनीहरु कुनै राजाका रानी थिएनन्। उनिहरुले घर परिवार र समाजलाई नेत्रित्व दिनसक्ने रानीको छवि आफ्नै बलवुतामा निर्माण गरेका थिए। 

साच्चै चाँदनी रानीसाब इतिहासका रानीसाब जस्ती होलिन्”? चाँदनी रानीसाबलाई भेट्न गरिमाको मन झनै आतुर बन्यो।

शनिवार दिउसोको निम्ता मान्न गरिमा बिहानै नुहाइधुवाई गरिवरि तयार हुन थालि। त्यसदिन सासूआमाले भान्छा सम्हालिदिइन्। गरिमाले बिहानको खाना बनाउन परेन्। उनि श्रिगांर पटारमा लागिन्। कप्तान साबलाई मनपर्ने रातो फूलबुट्टे सिफनको सारी उनले अघिल्लो रात नै दराजबाट निकालेकी थिई। त्यै फूलबुट्टे सारीमा सुनौलो चुच्चे हिल जुत्ता र गलामा हरियो पहेलो पोतेका साथ लकेटवाला सुनको सिक्री लाउदा गरिमाको सुन्दरता अझ निखारियो।

गरिमाले दाइजोमा पाएको नया कार कप्तान साब आफै हाक्दै थिए। गरिमा ठाटिएर अगाडिको सिटमा बसिन्, हत्तपत्त ब्यागबाट कालो चस्मा निकालेर लगाइन्। कप्तान साबको आँखा देब्रे साइडमा बसेकी गरिमामा पुगिहाल्यो। "चाँदनी रानीसाब भन्दा त कति राम्री राम्री"! मनमनै गुन्दै कप्तान साब ठट्यौलो पारामा गरिमातिर हेर्दै हल्का मुस्कुराए। केही लाज र गर्वले भरिएको गरिमाको अनुहारको गुलाबीपनमा बाहिरको धप धप बलिरहेको सूर्यको राप थपिएर रातै भयो।

चाँदनी रानीसाबको घरको ढोकैमा गरिमालाई ओरालेर कप्तानसाब आफ्नो बाटो लागे।

भित्र बैठक कोठामा गरिमा पुग्दा चाँदनी रानीसाब अजंगको सोफामा शानले बसेरहेकी थिइन्। मुंगा र मोतीको माला गलामा अनि निक्खर रातो सिफनको सारीमा सजिएकी रानीसाबलाई झट्ट देख्दा गरिमा केही अत्तालिई, कही आफुले कल्पना गरेको मुग़ल बादशाह अकबर की रानी जोधाबाई नै साक्षात आफ्नै सामु त हैनन भनेर। बिहेको प्रितिभोजमा देखिएकीभन्दा तेजिलो अनुहार गारिमाको थियो। देख्नासाथ चाँदनी रानीसाबले आफूसंगै बस्न बोलाईन। दर्शन टक्राउदै, आसामीले साहूसंग ॠण माग्न बसेझै मुद्रामा गरिमा केही सन्कोच मानेझै गरि रानीसाबको छेवैमा ग​एर बसि।

"हजुरलाई काम सघाउन भनेर अलि छिट्टै आकी म त, भान्छामा केही छ भने म गरिहाल्छु। रानीसाब! हजुरले मर्जिहोस्"। शब्द चयन गरि गरि गरिमाले सोधि। कप्तान साबसंग बिहेपछिका दिनमा गरिमाले आफ्ना लवजलाई कम्ता राजशी कसि लगाएकी थिइनन्। आफ्नो खान्दानमा तँ र तँपाई चल्दैन भनेर गरिमाकी सासूले घर भित्र्याउदै सचेत गराएकी थिइन्। नन्द, देवरदेखि भान्जाभान्जी सम्मलाई हजुर, राजा र महारानी जस्ता सम्बोधन गर्नमा गरिमा पारंगत भैसकेकी थिई।

ए हस्ते! यहाँ २ कप च्या ल्याइदेऊ त। दूधैदूधमा मिठो गरेर बनाऊ है।" रानीसाबले भान्छातिर फर्केर कराइन्। सब काम भइसक्यो गरिमा, भित्र त्यत्राबिधि मान्छे छ्न्। आज त झन करसाबले तीजको पार्टी भनेर ब्यारेकबाट ५ जना एक्स्ट्रा अर्दली पठाइदिबक्स्याछ। नौ नौ जना छन, गरिहाल्छन नि", शान र घमण्ड मिश्रित पारामा रानीसाबले भनिन्। "कर्नेललाई ४ जना, जर्नेललाई त आफ्ले भनेजति अर्दली दिन्छ सरकारले। १० वर्ष जतिमा त तिम्रा पनि दिन आउछन, गरिमा। अघिपछि ४,५ जना नोकरचाकर राखेर तिमी पनि रानीसाब हुन पाउछेउ", रानीसाबले गरिमालाई भविष्यका सुखसुविधा वारे अवगत गराइन्। पैतृक सम्पत्तिमा मान्छेहरु आश्रित भए जस्तै चाँदनी रानीसाबले अर्दलीहरु राख्नुलाई आफ्नो परम्परा बनाएकी थिइन्, आफ्नो अभिन्न अधिकार सोचेकी थिइन्, शान शौकतको प्रतिक मानेकी थिइन्।

गफकै क्रममा हस्तेले च्या ल्याईपुर्यायो। च्याको सर्को मुखमा पर्नासाथ रानीसाबको मुख बिग्रियो। ए हस्ते, झन मिठो बना भन्या त नमिठो बना भन्या जस्तो गरि के च्या बनाको यस्तो? करसाबलाई भन्दिउ? यसपाला शान्तिसेनामा पार्दिउला भनेको त। यस्तै हो भने शान्तिसेना बेना हिड्छ यसको", रानीसाब बेस्सरी कुर्लिइन्।

यसरी गफिदा गफिदै पाहुनाहरु आउने क्र्म बढ्यो।  रानीसाब, रानीसाबका पनि रानीसाबहरु बाहिर अर्दलीले सफा राम्रा बनाएका चौरमा भेला भ​ए। बिभिन्न परिकारको स्वाद संगै समूह समूहमा रमेका रानीसाबहरुका हासो र ठट्टाका आवाजले वातावरण तरंगित बन्यो। प्रायः उराठ रहने करसाब र रानीसाबको बङ्ग्ला पनि तीजको त्यो दिन कालो बादल उघ्रेर देखिएको सफा निलो आकाश झै सुन्दर देखियो। रानीसाबहरुका स्वर र उमङ्गका अगाडि सूर्यको तेज पनि फिका फिका जस्तै थियो।

राजा फालेको देशमा तीजको त्यो दिनमा बग्रेल्ती रानीसाबहरुको जमघट थियो। तर त्यस जमघटमा झांसीकि रानी थिइनन्, जोधाबाई थिइनन्, भृकुटी थिइनन्। त्यहा कमल करसाब, श्रीध्वज जरसाब, गिर्वाण जरसाब आदीका रानीसाबहरु थिए। त्यहा हस्ते, चन्द्रे, मंगले जस्ता निरिह अर्दलीहरु द्वारा कहलाइने रानीसबहरु थिए।  

कहिले घरधन्दा, कहिले पाहुनापासा, कहिले पार्टी भोज - यस्तै यस्तैमा गरिमाका दिन बिते। उनको घर गृहस्थी सार्है राम्रो थियो, कप्तान साबको प्रगति दिनानुदिन बढ्दो थियो र सासूससूराको आरक्षण आमाबुवाको समान थियो। हेर्दाहेर्दै गरिमाका लगालगी दुई छोरी भए - एउटी छोरी २ र अर्की ४ बर्षकी। भगवानले जे दिन्छन त्यही हाथ थापेका छौ, नाति नभएपनि हामी खुशी छौ”, कसैले सोद्धा यही जवाफ निस्कन्थ्यो गरिमाको सासूससूराको मुखबाट। गरिमाको गृहस्थी अत्यन्त खुशहाल थियो।

ग​एका ५ - ७ बर्षमा गरिमाको जिवन बद्लियो, घर गृहस्थीमा ऊ निखारिइदै गई, कप्तान साब पनि मेजरमा पद्दोनत्ति भए। धेरै चिज बदलिए तर गरिमाभित्र एउटा प्रश्न भने सदा गढिएर बस्यो - "म कहिले रानीसाब हौली?"

तर भन्छ्न नि केही प्रश्नका उत्तर सिर्फ समयले दिन सक्छ।

समयसंग गरिमाको त्यो प्रश्नको जवाफ थियो तर त्यो प्रश्नको उत्तर जुन रुपमा आउनेवाला थियो त्यसले गरिमाको, मेजर साबको र ती दुईका परिवारको सोचं र सम्बन्ध नै परिवर्तन गर्नेवाला थियो।
जिन्दगीको दौडमा, अघि बढने रहर सबको

तर,

मिल्छ सबलाई त्यही, जो इच्छा छ समयको
क्रमशः …………

Sunday, May 10, 2020

“रानीसाब” - भाग १


केटाले त हुन्छ भन्यो रे!

"हुन्छ भन्यो रे"! हुन्छ भन्यो रे!

त्यस दिन गरिमाको घरमा दिनभरी त्यही एउटा कुरा दोहोरीरह्यो। एउटा सानो प्वालबाट कुनै तेजिलो प्रकाश बाहिर निस्के जस्तो गरिमाको परिवारको सारा खुशी त्यही एउटा सन्देशबाट उत्पत्ति भैरहेको थियो। कप्तानलाई कजाएर खाने भई, कति भाग्यमानी! "हाम्री गरिमा मात्रै कम छे र? १२ क्लास पढी हालेकीछ के रे। ज्वाईसाबका खलक खान्दानी छन, अरु पढाउन क्यै कसर छोडदैनम भनेकै छ्न्। कैले गार्हो पारिन यस्ले मलाई, सानैदेखि शान्त"! आमैले गरिमाका गुण र स्वभाव एकलट एकै सासमा ओकलिन्। आफ्नै बिहेका कुरा आफ्नै अगाडि सुनिरहदा गरिमा भित्रभित्रै लजाएकी त थिई। तर कप्तान साबसङ्गको सुनौलो दाम्पत्य जिवन पनि उ कल्पिदै थिई। उन्को मुहार पुर्णेको जुन जस्तो धपक्कै बल्यो।

"हजुरकी छोरी हाम्री अब, क्यै क्यै दाइजो दिनुपर्दैन है हाम्लाई। भगवानको कृपाले सबथोक छ हाम्रो। एकसरो सारीमा गरिमा हाम्लाई स्विकार छ है हजुर!", स्वयम्बरका दिन कप्तान साबकी आमाले ५० जनाको अगाडि आफ्नो बडप्पन देखाइन्।

कुरो सुनेर फुरुङ्ग परेका गरिमाका दाई २ हप्ता नपुग्दै फर्निचर साहुजीलाई लिएर कप्तान साबका घर पुगे। "एक्ली बहिनीलाई कसरी खाली हात पठाउनु र भनेर हजुरसङ्ग सल्लाह गर्न आको हजुर!" गरिमाका दाईको कुरो भुईमा झर्न नपाउदै कप्तान साबकी आमाले फर्निचर साहुजीलाई नवदम्पतिका कोठा देखाउन लगिन्। कोठाका भित्तामा वालपेपर, भुईमा कारपेट, दराज, झ्याल र ढोकामा पर्दाका नाप लिएर बाहिरिनै लाग्दा कप्तान साबकी आमाले दाईलाई बोलाएर प्ठ्यारो मानेझै भनिन् बाबु! त्यही एउटा कोठामात्र सजाको राम्रो नदेखिएला, यो बैठक कोठामा पनि उस्तै खालका एक सेट कार्पेट, पर्दा, दराज र टिभी मिलाइदिनु है। कुनाबाट कप्तान साबका बुवाले छुस्स थपे, “कोठा ठूलो छ - ४० इन्चको टिभी त चाहिएला। फेरि सब नया अनि त्यो थोत्रो फ्रिज र ग्यारेजमा राखेको कार पनि फेर्न पाए हुन्थ्यो”! कप्तान साबकी आमाले आफ्नै मन खोतल्दै गरेझै भनिन्, “बाबु! तिमी हाम्रै छोरा सरहका मान्छे, अन्यथा नलिनु है। बिहेमा गहनाले ढाक्नु त पर्दैन तर नि लोकलाजको त ख्याल राख्नै पर्यो, एकसरो गहानापात पुर्याउनु है गरिमाको आङ्गमा। छैन भने अरुको मागेर काम चलाएपनि हुन्छ, बिहेपछि फिर्ता गरुला बरु।"

स्वयम्बरका दिन कप्तान साबका आमाबुवाले समाजका अगाडि देखाएको बडप्पन गरिमाको दाईको अगाडि छताछुल्ल भई पोखियो। आखिर पैतृक सम्पति दिनुपर्ने होइन क्यारे, यसो समाजलाई देखाउन मात्रै भ​एनि झिटी गुन्टाको चलन त गर्नै पर्यो भन्दै अघिल्लो रात श्रिमतीसङ्ग कुरा गरेका गरिमाका दाईको अनुवार एकाएक सेतो फुक्को बन्यो। त्यहा भन्नुसुन्नुपर्ने अरु केही थिएन। ती दुवै परिवार आफैले निर्माण गरेको समाजको ऐना एकअर्कालाई देखाइरहेका मात्र थिए। दाइजो लिने वा नदिने भन्ने कुराको त्यहा कुनै गुन्जाइस थिएन किनकी लोकलाजको सृजना समाजमा गर्ने तत्व ती दुई परिवार आफै थिए। प्रत्यक पटक सिनेमा हेर्दा दाइजो कुप्रथा भनेर घरको चार दिवारभित्र कुर्लिनेमा अव्व्ल ती दुई परिवार नै थिए। आधुनिक समाजकालागि भिरेका एकअर्काका मुकुण्डो त्यसरी उत्रिएपछि गरिमाका दाई र कप्तान साबका आमाबुवा धेरै बेर त्यहा आमनेसामने उभिन सकेनन्। दानविर झै मुठ्ठी फुकाएर दिन्छु भनेर छाती फुलाएर भित्र छिरेका गरिमाका दाईको अनुहार त्यहाबाट बाहिर निस्कदा अमिलो निचोरेको जस्तो थियो।

१८ इन्चको चाँदीको खड्कुलोमा खुट्टा धोएर, “मारे पाप पाले पुण्य भन्दै आमाबुवा र दाईले गरिमालाई बिदा गरे।

ससुराली घरमा गरिमा निकै खुशी रहन लागिन्। बिहान बेलुकीको दालभात पकाउन उनलाई केही गार्हो थिएन। सासुले तरकारी केलाइदिन्थिन्। बुवाले बाहिरी किनमेल धानेका थिए। मर्निङ्ग वाल्क गाको बेला एक छाक पुग्ने साग ल्याउन उनि कहिल्यै छुटाउदैन थिए। कप्तान साबको तलबले घरखर्च खासै धान्दैनथ्यो तर काठमाण्डौको मुटुमा रहेको घर बाहालको आम्दानीले उनिहरुको परिवारलाई मज्जाले पुगेकोथ्यो। पाहुनापासा देखि आमाजुसम्मलाई प्राय हरेक हप्ता घरमा बोलाएर एक छाक ख्वाउनु गरिमा आफ्नो धर्म ठान्थिन्। नठानुन पनि कसरी? बिहेअघि आमाले उनलाई असल बुहारीका संस्कार बारे पोख्त पारेकी थिइन्। ठलो स्वरमा नबोल्नु, आशुँ पिएर पनि बाहिर हास्नु, कसैलाई जवाफ नफर्काउनु!” गरिमाको आमाको माया र सल्लाह बिहेको १ हप्ता अघि अचानक पलाएको थियो। गरिमा फुरुङ्ग परेकी थिई 

सासु र आमाको माया र सल्लाहले गरिमा घर गृहस्थीमा खूब निपुण हुदै गई। समयसङ्गै घरजममा ऊ यत्ति रमिई कि गरिमाका आफ्न्त र साथीसङ्गीका घेरा कतिखेर साघुरो बन्दै गयो स्वयं उनलाई पनि पत्तो लागेन। माइतबाट उनकी आमाको उर्दी बेला बेलामा आउथ्यो, " त्यो दिक्षासङ्ग धेरै फोनमा कुरा नगर है। त्यसको पो काम छैन्। लोग्नेको घर गर्न सकिन, अहिले माईत आएर बस्या छे। हेर है! त्यसले तेरो पनि घर बिगार्ली नि।१२ क्लास पढेकी गरिमालाई एम ए पास गरेकी दिक्षाले उचालेर बर्बाद पार्दिने हो कि भनेर आमाले सचेत गराउदा पो गरिमा झसङ्गै भई।

पढाई लेखाईको कुरो सम्झनासाथ "पढेर भन्दा पनि परेर जानेका" उनका आमा र सासु उदाहरण बनेर उनको आखा अगाडि आउथे। एकदिन दिक्षाबाटै सुनेकी थिइन उसको एनजीओले महिला सशक्तिकरणका तालिम दिएको बारे। म जस्ता गृहिणीलाई के काम तेरा यस्ता कुरा भन्दै दिक्षालाई पन्छाएकी थिई गरिमाले। त्यसै राति आमासङ्ग फोनमा कुरा गर्दै दिक्षाको खिसीटिउरी गर्न भ्याई गरिमाले, "आमा, त्यो दिक्षाको त कामै गृहिणीहरुलाई उचालेर घर गृहस्थी बिगार्ने रैछ।" आमाले दरो सही थापिन्, "ख्याल गरेस है छोरी, त्यस्तासङ्ग बच्नु है।" दिक्षा जस्ता साथीलाई उनले आलटाल र टालटुल गर्दै विस्तारै पाखा लगाई। साथीहरुलाई मात्र होइन उनले १२ कक्षापछिको पढाईलाई पनि पाखा लगाइन्। होम साइन्समा बिएमा भर्ना भएकी उनलाई क्याम्पस जान मन नै लागेन। हुन पनि हो, आमा र सासुले नै उनलाई होम साइन्समा विद्धावारिधी गराउदैथे। क्याम्पस जाबोमा पढेर के सिक्नुथ्यो र उनलाई!

कप्तान साबले बेलुकीको भूजा ज्युनार गर्दागर्दै सम्झे, "ओहो! गरिमा सुन त………, चाँदनी रानीसाबले तिम्लाई तीजको दर खान निम्तो गरिबक्स्याछ। जसरी पनि जाऊ है। कमल करसाब मेरो हाकिम, तिमी त जसरी नि जाऊ। बिहानै जाऊ, काम पनि यसो सघाइदेऊ। भोलिपसि प्रमोशनको बेला बुढो काम लाग्छन क्या!नाम बारम्बार सुने पनि भेटेको भने थिइनन् गरिमाले। 

उनको मुखबाट फुत्त निस्क्यो - चाँदनी रानीसाब?
क्रमशः …………………..