Saturday, March 10, 2018

बोक्सी को हुन र कसरी जन्मन्छन?

अस्ति कैलालीकी राधिकालाई बोक्सीको आरोपमा ६ घण्टासम्म भोलेबाबा र उनकी सहायिकाले निर्घात कुटपिट गरेको कहालीलाग्दो घटना सेलाएको छैन। त्यहाँ रमिते सैयौ गाउले थिए। न तिनले केहि बोले न नेता, प्रतिनिधि, प्रशासनले चूँ गर्यो। यस्ता घटना हाम्रा लागि नौला होइनन - बोक्सी भगाउन दिशा पिशाव ख़्वाउने, नागों पार्ने, चारपाटे मुड़ने प्रायः यातनाका चरम अवस्था हुन तर यी सामान्य घटना सरह घटिरहेका छन।

तपाईहरुलाई अचम्म लाग्ला तर... मैले बोक्सी देखेकी छु र कसरी जन्मन्छन पनि थाहा छ। ल सुन्नुस विस्तारमा -

#१. बोक्सी को हुन? हाम्रा समाजका बोक्सी भनेको अशिक्षा, अज्ञानता, भोकमरी, उत्पीड़न, अवहेलना, महंगी, भ्रस्टाचार हुन। यी कुराले गाज्दै लगेपछि हाम्रो समाज "रोगी" बन्छ, खोखलो पर्दै जान्छ। यस्ता रोग हाम्रा गाउघर, बिकट बस्तीमा मात्र हैन, शहर बजारका गल्ली गल्लीमा व्याप्त छ। अब हेर्नुस न, आज पनि हाम्रा कैयौ सम्भ्रान्त घर परिवार जो अमेरिका बेलायत अष्ट्रेलिया मा छोराछोरी पढाउछन तर त्यहाँबाट कसैको टाउको, पेट, खुट्टा दुखेको समाचार आए नेपालमा झारफूंक गर्न दौड़िहाल्छन। अझै निको भएन भने उता उपचार गराउन छोडेर मान्छे नै झिकाउछन नेपालमा।

#२. बोक्सी किन र कसरी जन्माइन्छन? "छोरी कुटेर बुहारी तर्साउने" भन्ने उखान हाम्रो समाजको प्रचलित उखान हो। सरल रुपमा बुझ्दा यसको मतलब हो - एउटालाई कुटेर अर्कोलाई तरसाउनु हो। जो महिला बाहिर हिड़छन, फेशन र गफ गर्न शौकिन हुन्छन, घरबाहिरका पुरुष महिला साथीसंग भेटघाट रमाइलो गर्न मन पराउछन, त्यस्ता महिला कुनै न कुनै बेला बोक्सी या पागल कहलिएका हुन्छन। त्यति भनेर पनि तह लागेनन भने चरित्रहीन र हिंसाका उपाय अपनाउन पछि नपर्ने हाम्रो समाज हो। महिलालाई त्यसरी "तह" लगाउनको उद्देश्य पनि छ। घरभित्र भोजभतेर, सहज धहज गरेर नबसेर जान्ने बुझ्ने बाठा भए भने त फेरि "मर्दका पांच वटी" र "खुट्टा भए जुत्ता कति कति" भन्ने उखानका उपहास हुने नै भयो। त्यही परम्परा धान्न, जोगाउन आमा, बुवा, सासु, ससुरा, देवर आदी इत्यादी सब लाग्नु पर्ने नै भयो, लागि नै रहेका छन। हो, महिलालाई बोक्सी बनाउँदाका फाइदा छन ताकी ती महिलाले बोक्सी भएको आरोपमा खप्नु परेको शाररिक र मानसिक यातना देखेर अरूले उनको जस्तो साहस नगरून, नबोलून भन्ने हो। जति धेरै यातना "बोक्सी" लाई दियो त्यो देखेर धेरै अरु महिलाहरु आतंकित बनून र आफ्नो बसमा सदा महिलालाई राख्न पाइयोस भन्नका हेतु बोक्सी जन्माइन्छन; पागल, मानसिकता ठिक नभएको महिला ठहर्याइन्छन।

#३. किन प्रायः विधवा र बृद्धाहरु बोक्सी हुन्छन? पितृसत्तात्मक समाजमा लोग्नेको मृत्यु भएपछि बिधवालाई सम्पत्ति दिनुपर्ला, लामो समयसम्म पाल्नु पर्ला भन्ने डरले घर परिवारका महिला पुरुष एकाएक त्रसित बन्छन। साच्चै भनुम भने विधवाबाट छुटकारा पाउन "उहिले सतीप्रथाको उपाय सिर्जना गरेको समाजले त्यो प्रथा उन्मूलन भएपछि बोक्सीप्रथा सिर्जना गरेको हो"। त्यसैले त लोग्ने भएसम्म ठिक अवस्थाका महिला लोग्नेको मृत्यु पश्चात अचानक बोक्सी र मानसिक सन्तुलन ठिक नभएका ठहराइन्छन। घरको नोकरको हैसियतमा बसून्जेल राम्रा हुन्छन तर सम्पत्ति खोज्न थाल्दासाथ बोक्सी बनाइन्छन, अर्कासंग सल्केकी बन्न पुग्छन। बृद्धाहरु पनि करीब करीब त्यही हालतमा बोक्सी बनाइन्छन। शरीर अशक्त अनि सम्पत्ति नभएपछि घर परिवारले उनलाई बोझ ठान्न थाल्छ। घर छोडेर सड़क या बृद्धा आश्रमतिर आफै जानेर गईन भने त ठिक, नत्र फेरि घरपरिवार समाजले उही बोक्सी बनाउने बाटो सुझाईहाल्छ।