Saturday, June 27, 2020

सामाजिक सञ्जालका “हल्का मजाक”

सामाजिक सञ्जालका रुप र बिरुप  
कहिले काही मलाई लाग्छ अलि बढ़तै सोच्छु। हुन त पढ्नु, सोच्नु अनि फेरि पढ़नु मेरो दैनिकी नै हो। सोच्नु, छलफल गर्नु, बहस गर्नु यी सब मेरा रुचिका कुरा हुन। दिनको केही अंश सामाजिक सञ्जालमा व्यतित गर्दा टाइमलाइनमा पोखिएका विचारले मलाई सोच्नमा अझ ऊर्जा थप्छ। तिन्मै एक्छिन घोत्लिदा मलाई मष्तिस्कका कोष चलमलाए झै लाग्छ। रमाइलो लाग्छ। 
सामाजिक सञ्जालबाट धेरै कुरा सुन्न जान्न पाइन्छ। केही मीठा हुन्छन, केही तीता। केही हदसम्म कतिपय ठूला, गन्यमान्य, वौद्धिक, वरिष्ठ र चर्चित व्यक्तिहरुका ट्विटर र फेसबुकका टाईमलाइनमा उनिहरुले जानि नजानि राखेका विचार हेरेरै पढेरै पनि म सजिलै उनिहरुको मनस्थिति र स्तर ठम्याउन सक्छु। 
सामाजिक सञ्जालमा पोखिएका कतिपय कुराले भने मलाई अलि बढी नै असर पार्छ। जस्तो कि सामाजिक सञ्जालमा मैले ऐले एउटा ट्रेन्ड महशुस गर्दैछु - “हल्का मजाक” को। कुनै निष्चित जातजाती, महिला, अपांग जस्ता विषयमा मानिसहरू अलि बढ़ी नै मजाक गर्न अग्रसर र रुचि राख्छन जस्तो मलाई लाग्छ। केही अघिको कुरो हो, सामाजिक सञ्जालमा चर्चा चलेको एउटा विषय थियो
“झापाको सड़क अफ्रिकी सुन्दरीका गाला जस्तै चिल्ला ………”। 
यो भनाई राजनितिमा पद र प्रतिष्ठा बोकेका एक व्यक्तिबाट आएको थियो। यसैलाई मजाकिया रुपमा प्रयोग गर्ने अवसर ठानेर समाजिक सञ्जालका एक चर्चित मुटुका डाक्टरले यसैसंग अरु प्रसंग जोडेर अर्को ट्विट लेखे। त्यसपछि त के थियो, क्षणभरमै सामाजिक सञ्जालमा यसले एउटा जोकको रूप नै लियो। हाम्रा समाजका अगुवा, जान्नेबुझ्ने पंक्तिका मान्छेहरु कतिजना आफै मरीमरी हासे, कतिले यही भनाईका सहारामा फेरि अरुलाई हँसाउन प्रयोग गरे कतिले बुझे- नबुझे साथ दिए लहलहैमा हासेर, गिल्ला गरेर। 
अफ्रिकी मुलुकहरुमा लामो समय बसेकी मलाई भने त्यो भनाईले कटक्क मुटु काट्यो। मेरा कैयौ काला साथी र शुभचिन्तक छन जसका विचार र व्यवहारलाई म धेरै नै आदर गर्छु। नश्लिय विभेद (रेसिज्म) के हो र यसले कसरी कुन हदसम्म पीडा दिन्छ भन्ने कुरा मैले धेरै नजिकबाट देखेकी छु। कति आफैले भोगेकी छु, कति उनीहरुको संगतबाट थाहा पाएकी छु। त्यसैले पनि “अफ्रिकी सुन्दरीको गाला” भन्ने प्रसंगलाई मजाक बनाइदा मलाई नराम्रो लागेको हो। झनै, ती काला छाला भएका मेरा साथीहरुले प्रत्यक्ष त्यस्तो हसीमजाक सुन्थे वा बुझ्थे भने तिनलाई कस्तो लाग्थ्यो होला? तिनले मेरै देशका ती हसीमजाकिया ग्रुपलाई के भन्थे होलान? ती ग्रुपसंग जोडेर स्वयं मलाई के भन्थे होलान? यस्ता कुरा सोच्दा म विचलित हुने गर्छु। बुद्ध र सगरमाथाको देश भनेर खोक्रो गर्व पालेर आभुभित्र निहित विभेदलाई कहिलेसम्म मजाक भनेर पन्छाउनु? आफैलाई कसरी ढाट्नु?
मजाका रुपमा प्रस्तुत गरिने अपमानजनक जोक्स 
कुनै निष्चित वर्ग, जातजाती, महिला, अपांगमाथि गरिने जोकहरुले तीनवटा कुरालाई औल्याउछपहिलो - यस्ता जोकहरु प्रायः आफूभित्र शुषुप्त अवस्थामा रहेको पूर्वाग्रही भावना या सोचबाट उत्पन्न भएका हुन्छन। दोस्रो यस्ता मजाक गर्ने व्यक्तिमा अरुलाई हेप्ने प्रवित्ति हावी हुन्छ जुन सामाजिक परिवेशमा आफूलाई सम्मानित भएको भ्रम पारीराख्न जवरजस्ती स्वयंले आफैभित्र दवाएर राख्नु पर्ने बाध्यता। तेस्रो जोकको रुपमा अरुलाई अपमानित वा अवहेलना गर्दा त्यसले हासोको वातावरण उत्पन्न गर्ने र कसैले नराम्रो मानिहाले “जोक त हो नि” भन्दै उम्कन पाइने। 
कुनै वर्ग, जातजाती, समुदाय, महिला, अपांगमाथि गरिने जोकलाई हल्का मजाक, जोक, ख्यालठट्ठाको रुपमा प्रस्तुत गरिए पनि, गहिराईमा हेर्दा त्यस्ता जोक गर्ने ग्रुपको अंतरनिहित स्वार्थ वा अपमान गर्ने ध्यय लुकेको हुन्छ। प्रायः सामाजिक रुपमा प्रिभिलेज्ड वर्गका मान्छे या समूहमा यस्ता किसिमका जोक गर्ने प्रवृत्ति हावी हुन्छ। कहिलेकाही उनीहरु स्वयंलाई पनि जानाजानी आफूभित्र निहित त्यस्ता प्रवृत्तिको बारेमा सुइको हुदैन। त्यस्ता प्रवृत्ति र व्यबहार मान्छेका अन्तरमष्तिस्कमा समेटिएका हुन्छन जुन सुरक्षित समय र माहौल पाएपछि अचानक बाहिर निस्कन्छन। त्यसरी अनायसै बाहिर आएको आफ्नो प्रवृती र व्यबहारलाई ढाकछोप गर्न ती मानिसहरु आफ्ना अभिव्यक्तिलाई “जोक्स त हो नि”, “जोक पनि सीरियस्ली लिने”, “हल्का मजाक पनि गर्न नपाइने” भन्दै पन्छिन्छन। तर मेरो विचारमा उनिहरुको त्यो सेफ ल्यानडिंग गर्ने तरिका मात्र हो।
सामाजिक सञ्जालको अर्को “हल्का मजाक” लाई प्रसङ्गमा ल्याउ लोग्नेमान्छेलाई दशा लाग्यो भने सन्नी लियोनी पनि सपनामा साड़ी लाएर आउछे रे”।
यो कुनै फिल्मी डाईलग थियो तर ट्विटरमा यसलाई हुबहु प्रस्तुत गरेर “हल्का मजाक” गर्ने ती व्यक्ति अहिले कान्तिपूर टिभीमा मर्निङ्ग कार्यक्रम चलाउछन। उनलाई वैज्ञानिक भनेर उनका कुरा सुन्ने मान्ने थुप्रै छन्। 
अपमानजनक जोक्स प्रायः आफुले हेप्न सक्ने समूहमा साधिन्छ। आफूभित्र उकुसमुकुस संचित भएर रहेका पूर्वाग्रही भावना र विचारहरुले बाहिर निक्लन सही समय र सुरक्षित माहौल खोजिरहेको हुन्छ। सामाजिक सञ्जालमा त्यस प्रवृत्तिका सार्वजनिक व्यक्तिलाई त्यस्तो समय र सुरक्षाको मौका स्वाभाविक रुपमा बढी मिल्छ। त्यसैको फाइदा स्वरूप सामाजिक सञ्जालमा त्यस प्रकृतिका जोक्स चाडै फैलन्छन 
कसैलाई हेप्ने, होच्याउने वा अवहेलना गर्ने ध्यय बोकेका “जोक्स” को बिरोध गर्दै त्यस्ता जोक्सलाई सामाजिक सञ्जालमा त्यसरी फैलाउन हुन्न। त्यसमाथि पनि स्वयं मिडियामा सम्बन्धित मान्छेहरुबाट त्यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनु हुन्न भन्दा आएका केही जवाफ यस्ता थिए – 
सामाजिक सञ्जालमा हल्का मजाक गर्न पाइन्छ र त्यसले खासै कसैको भावना ठेस पुर्याउदैन। ठूला कुराहरुमा सचेत भए पुगिहाल्यो”। 
त्यही भनाइलाई थप जोड़ दिदै फेरि अर्कोले लेखे – “हरेक विषयमा ठ्याठ्या गर्दा मूल विषय ओझेलमा पर्नेसंगै सोचको अतिवाद हावी हुन्छ”।
के साच्चै अरुलाई होच्याउने प्रवृत्तिका व्यंग्यले कुनै हानि नै गर्दैन त?
कुनै वर्ग, जातजाती, समुदाय, महिला, अपांगमाथि प्रयोग गरिने व्यंग्यले प्रिविलेज्ड ग्रूपको अधिपत्य अझ सशक्त रुपमा स्थापना गराउन सहयोग पुरयाउछ। त्यसले एकातिर भेदभावको खाडल अझ गहिरो बनाउने सम्भावना बोकेको हुन्छ भने अर्कातिर विभेद बिरुद्धको संघर्षलाई कमजोर बनाउछ। 
महिला र त्यसमाथि पनि विशेषगरि सिनेक्षेत्रका महिलाका पहिरन र अंगलाई लिएर अपमानजनक व्यंगलाई “हल्का मजाक” को नामबाट बढ़ाई चढ़ाई गर्ने हाम्रो समाजमा रहेका केही पुरुष र महिलाहरुको प्रवृत्ति नै छ। उनीहरुमाथि जस्तो सुकै निच व्यंग्य गरिए पनि त्यो उनीहरुले सहानुपर्छ र अरु कसैले त्यसको प्रतिकार गर्न हुदैन भन्ने मान्यता बोकेका कैयौ पुरुष महिला छन। तर मैले आजसम्म पनि सिने क्षेत्रमा लागेका पुरुषका पहिरन या अंगका बारेमा खुलेआम अपमानजनक व्यंग गरिएको खासै पाएकी छैन। यसको अर्थ हाम्रो समाजमा कस्ले के गर्नु हुन्छ हुदैन भनेर नैतिक र सामाजिक मूल्यमान्यताको मापदण्ड बनाउने एउटा समूह हावी छ। त्यो समूह प्रायः प्रिविलेज्ड ग्रुप संग सम्बन्ध राख्छ। उसले तय गरेका मापदण्डभन्दा बाहिर उत्पीड़ित समूह वा व्यक्ति गएमा उनीहरुलाई सह्य हुदैन। त्यसको बिरोध त गर्नै पर्यो, तिनिहरुलाई ठ्याक लगाउनु त पर्यो नै, तिनिहरुलाई आफ्नो स्थान त देखाउनु परि गयो। हो त्यस बखतका लागि हुन - समाजमा अनुशशित देखिने या ढोंग गर्नेहरुले प्रयोग गर्ने मुख्य हतियार - “हल्का मजाक” । 
समाजका केही तत्वहरुमा के भ्रम रहेको हुन्छ भने यदि महिलाहरु आफूमाथि कुनै अपमानजनक व्यंग्यबाट बचाउन चाहन्छन भने उनीहरुले चाहे जस्तो रूप र व्यबहारमा ढाल्नुपर्छ। कुनै महिला राम्रा वा नराम्रा हुनुमा स्वयं उनीहरु आफै जिम्मेवार हुन्छन। उनीहरुले नराम्रा ठहराइएका महिलालाई जे पनि भन्न पाउनुपर्छ, जस्तोसुकै मजाक गर्ने छुट पाउनु पर्छ। उनीहरुले “राम्रा” ठहराइएका महिलामाथि उनिहरुले जोक्स गर्दैनन। समग्रमा भन्दा कसलाई राम्रो भन्ने, कसलाई नराम्रो त्यो ठेक्का ती समूहले लिएका हुन्छन। त्यसैले महिलाहरु उनीहरुले भनेकै जस्तो हुनुपर्छ, त्यही रूपरंगमा ढल्नुपर्छ - त्यसो गरेमात्र घटिया जोक्सबाट बच्न सक्छन महिलाहरु।
हल्का जोकको नाममा गरिने अपमानले सुक्ष्मरुपमा परपीडकको भूमिकालाई अझ बलियो बनाउछ र विभेदका खाडललाई झन गहिराउदै लग्छ। यस्ता प्रकृतिको जोकबाट बच्न र बचाउन महिलाहरु स्वयं “राम्रा” बन्ने चाहना राख्दै जाउन भन्ने स्वार्थ यस्ता अपमानजनक जोक्सले राखेका हुन्छ्न्। भोलि ग​एर कुनै महिलाले आफूलाई मनपर्ने मिनिस्कर्ट वा गला खोलिएका पोशाक नलगाउन भनेर यस्ता जोक समाजका ठूलाठालु तर संकुचित मानसिकताका पुरुष र महिलाले बढी गर्छन्। तीनिहरु यस्ता जोक्स मार्फत आफ्ना छोरी बहिनीहरुलाई नैतिकताको पाठ घोकाउन लाग्छन। नैतिकताका पाठ रटदा रटदा उनीहरु “राम्रा” बन्छन; आफूमै गरिएको जोकमा ती यति निरिह बन्छन कि न मन खोलेर हास्न सक्छन, न प्रतिकार गर्ने हिम्मत जुटाउन सक्छन। 
सनी लियोनीलाई सपनामा सेक्सी अवतारमा परिकल्पना गर्ने पुरुषकी श्रीमती, छोरी बहिनीलाई अरु कसैले त्यस्तै कल्पना गर्दा उनीहरुले कस्तो प्रतिक्रिया देलान? फलानोको श्रीमती, छोरी मेरो सपनामा सेक्सी रुपमा आइन् भन्दा तिनले त्यसलाई पनि हल्का मजाककै रूपमा लेलान कि नलेलान?

Friday, June 12, 2020

प्रिभिलेजमा रमाउनु - विभेदको कारक

विभेदका भाषा
मेरो घरमा काम गर्ने केटोलाई स्कूल पठाउछु। मलाई त्यसको खूब माया लाग्छ। आफ्नै परिवारको सदस्य जस्तो लाग्छ। तर एउटै भाडोमा पकाएर चाही मैले आजसम्म पनि खान देको छैन। डिक्ची, डाडू, पन्यू छुट्टै दिन्छु, पकाएर खान्छ। काम गर्नेलाई एउटै भाडामा ख्वायो भने पछि टाउकोमा टेक्छन क्या
हे भगवान! कस्तो गरीब! उसलाई देखेर गरीबहरुको लागि केही गर्नुपर्छ जस्तो लाग्यो मलाई। के गर्नु नेता जति सबै चोरै चोर
मेरो घरमा त त्यस्तो छैन…..”
त्यो त उपल्लो दलित हो। घर छ, नोकर चाकर छन, अनि फेरि आफ्ले आफ्लाई दलित भन्दै हिड्छ। दलितलाई त हाम्ले हो र? उही जस्ता दलितले पो झन दलित बनाएका छन
कत्ति विभेद विभेद भनिराख्या? तिम्ले विभेदको कुरा गर्न छोडे पो विभेद हट्छ त
त्यै उनिहरुका विभेदका कुराहरु सुन्दा सुन्दा, देख्दा देख्दा हुर्क्यौ। फेरि उनिहरुका कुरा हामी बुझ्न सक्दैनौ रे, महशुस गर्न सक्दैनौ रे। अचम्म छ”!
ओहो! तपाई त दलित जस्तो देखिनु हुन्न। तपाई त स्मार्ट दलित पो
अफ्रिकन सुन्दरीका गाला जस्ता चिल्ला बाटा…”
त्यसका हात खुट्टा भाचेर ठेगानमा लगाउनु पर्छ”!
"दाइजोका बिरुद्ध बोल्नेले डिभोर्सपछि लोग्नेको आधा सम्पति लिन लाज लाग्दैन"?
मेहनत गर्ने बेलामा शून्य, आरक्षणको फाइदा लिने बेलामा दलित रे, महिला रे”?
माथिका सोच प्रायः शहर बजारका शिक्षित सम्भ्रान्त परिवार र साथीभाई बिचमा हुने प्रतिनिधि संवादका अंश मात्र हुन्। यस्ता संवाद र सोचका उदाहरण त थुप्रो छन्। अझ, ती सबलाई एकै ठाउँमा राख्ने हो भने काठमाण्डौमा १ हप्ता जम्मा गरेर राखेको फोहोरको डंगुर के गन्हाउला र जति यस्ता सोच र संवाद गन्हाउछन्। त्यसैले मैले त्यस्ता हरेक सोच र संवादलाई यहा एकै ठाउँमा संकलन गर्ने चेष्टा गरिन।
जातिय, लैंगिक, वर्गीय र नश्लिय विभेद सुसुप्त रुपमा हुन्छन। स्वयंम पिडितहरुलाई पनि विभेद प्राकृतिक प्रक्रिया जस्तो लाग्छ। दलितलाई गरिने विभेद त झन कहालीलाग्दो छ। बाउन क्षेत्रिले मात्र होइन दलितलाई त हरेक जातजातिले विभेद गर्छन। दलितलाई गरिने विभेद आफ्नो श्रेष्ठता दर्शाउने रणनितिक चातुर्य त हुदै हो, त्यसमा पनि बाउन क्षेत्रीदेखि जनजाति, मधेशी - हर कोही जातजातिले संरचनागत रुपमा नै उनिहरुलाई विभेद गर्ने हुनाले दलितमाथि हुने विभेद अझ भयंकर प्रकृतिको हुने गरेको छ।
संरचनागत विभेद (structural discrimination) भनेको के हो त?
समाजमा कुनै विशेष स्थान ओगटेका व्यक्ति वा समूहले जानाजानी आफ्नो स्थायित्व फाईदाकालागि अधिकार, प्रतिष्ठा, पद या श्रोत साधनहरुमा वर्चश्व कायम राख्न निर्माण गरिएको अप्राकृतिक सामाजिक व्यबस्थालाई संरचनागत विभेद भनिन्छ। संरचनागत विभेदको पहिलो कडि सामाजिक स्तरण हो र यो दीर्घकालीन उद्देश्य प्राप्तिकालागि गरिन्छ। समयसंगै माथिल्लो स्तरण गरिएका व्यक्ति वा समूहले तल्लो स्तरणमा पारिएका व्यक्ति वा समूहलाई उचनिच, उत्पिडन, भाषा भेषभुषा र धार्मिक क्रियाकलापका माध्यमबाट संरचनागत विभेदलाई सश्क्त पार्दै लग्छन् र समय, कालखण्ड, परिस्थितिमा यसले समाजमा स्थायित्व पाउछ र यस्लाई रितिरिवाज वा नियमकानूनको रुपमा मान्यता प्रदान गरिन्छ। जस्तै - कुनै समुदाय वा व्यक्तिलाई उसको छालाको रंग वा एउटा खास पेसासँग जोडेर पूर्वाग्रही धारणा बनाउनु सामाजिक स्तरण (social segregation) या रूढिवाद (stereotyping) हो  कालो देख्ने बितिक्कै मधिशे ठान्नु, कथित माथिल्लो जातकाले दलितलाई छुवाछुत गर्नु, महिलामाथिको घरेलु हिसां र भारतीयहरुले नेपालीलाई बहादुर भनि हेप्नु - यी सब संरचनागत विभेदका उदाहरण हुन।
अब विषयप्रवेश गर्नुअघि तलको कुराकानीमा गौर गरौ -
"तिम्ले त केही बोल्नुपर्थ्यो। बिचरालाई ढाढस मिल्थ्यो अलि भएपनि"।
मैले बोलेर के नै हुन्छ र?”
तिमी पढेलेखेको छौ, समाजमा स्थान छ।
उस्को दुखको सरोकार मसंग छ र? मेरो पढाई, मानसम्मान, सुखले गर्दा उस्ले दुख पाको हो र? आज म जे छु, त्यो सब मेरो मेहनतको फल हो। १० वर्ष अगाडि मेरो हालत उस्को भन्दा पनि गएगुज्रेकोथ्यो। कति हन्डर खाको छु, कस्तो दुख भोगेको छु त्यो मलाई मात्र थाहा छ
माथिको काल्पनिक संवाद भएपनि हामी मध्य धेरै जसोले कसैलाई परिआउदा "मेरो कारणले हो र? मैले गरेर हो र? मेरो के सरोकार? मेरो सफलता मेरो बलबुतामा आर्जन गरेको हो" जस्ता कुरा गरेर प्रायः पन्छिने गर्छौ। साधारण रुपमा आफूलाई समाजबाट अलग राखेर सोच्दा, हुन पनि हो - "के सरोकार"? । तर संरचनागत विभेदको कुरा गर्दा जुनैसुकै विभेदमा "मेरो के सरोकार छ? मेरो के भूमिका छ? भन्ने कुरो बुझ्नु जरुरी छ। आज मैले प्रसंगमा ल्याउन खोजेको कुरो यही हो।
प्रिभिलेजका (privilege) कुरा
यदी हामी कुनै सिमान्तकृत समूह जस्तै गरिब, महिला, मधेशी, दलितमा पर्दैनौ भने कुनै न कुनै रुपमा हामी प्रिभिलेज्ड (privileged) समूहमा आबद्द छौ भनेर बुझ्नुपर्छ। हुन त प्रिभिलेज्डको नेपाली अर्थ "स्वअधिकार" वा विशेषाधिकारहुन आउछ तर म यसलाई स्व-प्रायोजित अधिकार भन्न रुचाउछु। प्रिभिलेज भनेको कुनै समाजिक स्तरण वा वर्गमा परेकै कारणले गर्दा स्वयंले आर्जन नगरेका वर्ग विशेष फाइदाहरु स्वतः पाउनु हो
हामी मध्य धेरैले बेला बेलामा कसैले भनेको सुनेका हौला - "बाहुन वा पुरुष भ​एर जन्मनु मेरो बसमा थिएन, त्यसैले बाहुन वा पुरुष भएकै कारणले मैले विभेद गर्छ भन्नु अन्यायपूर्ण छ।" बिल्कुलै सत्य हो। तर यो पनि सत्य हो कि बाहुन वा पुरुषले जन्मजात छुट्टै किसिमका प्रिभिलेजहरु पाउँछन। वर्गीय प्रिभिलेजले गर्दा व्यक्तिको जिवनलाई धेरै हदसम्म सजिलो बनाइदिन्छ। तर प्रिभिलेज्ड हुनु भनेको जिवनका सबै दुख संघर्षबाट अभिन्न हुनु भन्ने होइन। प्रत्येक व्यक्तिले दैनिक जिवनयापनका कुराहरु जस्तै धन कमाउने, साथीभाईका सञ्जाल निर्माण गर्ने कार्यहरु आफैले नै गर्नपर्छ। यस्ता किसिमका संघर्ष हर कोहीले गर्नुपर्छ - त्यसैले यी वर्ग विशेषको प्रिभिलेज अन्तरगत पर्दैन।
उदाहरणकालागि, दलितले भोग्नुपर्ने छुवाछुतको समस्या बाहुनले जन्मभर भोग्नु पर्दैन। छोरी भ​एकै कारणले गर्भमै मारिनुपर्ने नियति छोराले भोग्नु पर्दैन। उपल्लो जातको केटी बिहे गर्ने दलित केटो केटी तर्फका घरपरिवारबाट धेरैजसो मारिन्छन। दलित केटीलाई बिहे गर्ने उपल्लो जातको केटोले सामाजिक बहिस्कार सम्म त भोग्ला तर मारिएकै घटना हामीले बिरलै सुनेका छौ। अनुहार र लुगा हेरेर धनिले गरिबलाई तँ भन्छ या होच्याएर सम्बोधन गर्छ। त्यसको बिपरित गरिबले धनिलाई ज्यूँ हजुर गर्छ। त्यस्तै पितृसत्तात्मक परिवेशमा श्रीमतीलाई तँ वा तिमी भन्नु सामान्य रुपमा लिइन्छ तर श्रीमतीले श्रीमानलाई तँ भनेर सम्बोधन गरे आगो नै बल्ला।
संगै खाने, बस्ने वा सहानुभूतिका केही शब्दले विभेद हट्ला?
संरचनागत विभेदको एउटा घत लाग्दो कुरो के छ भने विभेदमा परेकाहरुकालागि बोल्न जो कोही सजिलै तयार हुन्छन्। सडकमै जान नसक्नेहरु पनि समाजिक सञ्जालमा सहानुभूतिका केही शब्द खर्चिन पछि पर्दैनन्।
"आजको युगमा पनि यस्तो विभेद? अब पनि नबोलि बस्ने"?
हामीले नै विभेद बिरुध्द बोलेनौ भने कस्ले बोल्छ"?
तर उदेक लाग्दो कुरो के छ भने अधिकांशले विभेद बिरुध्द बोल्ने जागरुकता देखाउदा न आफ्नो प्रिभिलेजका बारेमा बोल्न रुचाउछन न त आफ्ना कुनै प्रिभिलेज छोड्ने साहस राख्छन। अझ, धेरैजसो त आफ्ना प्रिभिलेजका बारेमा अनभिज्ञ नै हुन्छन्। धेरैले विभेदमा परेकाको दुःखका कारण स्वयं आफै हो भन्ने सम्म पनि बुझेका हुन्नन्। प्रिभिलेज्ड भएकामा गर्व र अहं पाल्ने अनि साथसाथै विभेदका बिरुध्द बोल्ने - त्यो तर्कसंगत कुरो हुन सक्दैन। त्यसैले, विभेदका बारेमा चासो देखाउदै सहानुभूतिका केही शब्द व्यक्त गरेर आफ्नो काम कर्तब्य पूरा भयो भन्ने सोच मलाई भने सार्है खट्किन्छ। खाईपाई आएको प्रिभिलेजले मान्छेलाई सजिलै अन्धो बनाउन सक्छ। अरुमाथि भ​एको विभेद देख्नेहरु प्रायः आफ्ले पाएका प्रिभिलेजहरुले कसरी अरुलाई विभेदको खाल्टोतिर धकेलेको छ भन्ने कुरा सोच्न या मान्न सक्दैनन्।
कृतिम रुपमा विभेद बिरुद्ध लाग्ने पनि धेरै छन्। जस्तै, दलितसंगै खाने, बस्ने र दलितकै थर ग्रहण गरेर विभेद बिरुद्ध दिलोज्यानले लागेको छु भन्नेहरु धेरै छन्। के दलितसंगै संग भोजन गरेर, साथमा बसेर वा दलित थर ग्रहण गरेर विभेद हट्ला त? संगै बस्ने खाने क्रियाकलाप सांकेतिक भाव मात्र हुन्। यस्ता क्रियाकलापले वास्त्विक परिस्थिति र विभेदलाई कम गराउन खासै केही मद्दत गर्दैन। फेरि बढ्दो सहरिकरण र चलयमान अर्थतन्त्रको वाताबरणमा संगै बस्ने खाने भन्ने कुरा अति नै सहज र साधारण कुरा हुन्। यस्तो अबस्थामा सांकेतिक भावहरुले विभेद कम या उन्मुलन गर्न कुनै भूमिका खेल्दैनन्। यस्ता क्रियाकलाप मुख्यरुपमा राजनितिक अभिप्रायबाट प्रेरित हुन्छन या आफ्लाई क्षणिक रुपमा विभेद बिरुद्ध उभिएको भन्ने ब्यक्तिगत मन्सायबाट प्रेरित हुन्छन्।
सोचौ - कही आफ्नै विशेषाधिकार त विभेदको जरो होइन?
विभेदको बिरुद्ध केही गर्ने हो भने हामीले दिर्घकालिन सोच राख्न जरुरी हुन्छ। हाम्रा क्रियाकलापले विभेदमा पारिएकाको आत्मसम्मान उकास्न, रोजगारी, शिक्षा वा स्वास्थ्यमा पुर्याउन पँहुच मद्दत गर्छ भने मात्र वास्तविक रुपमा विभेदको बिरुद्धमा उभिएको ठहरिन्छ। नभए, देखावटी रुपमा बोलेर, भजेर हिड्नुको कुनै औचित्य म देख्दिन।  
हामीले अर्को सशक्त रुपमा गर्न सक्ने कार्य भनेको आफ्ना प्रिभिलेजहरुको स्वमुल्याकंन गर्दै कसरी ती प्रिभिलेजहरुले अरुलाई हानि नोक्शानि गरेको छ र तिनबाट कसरी आफूलाई मुक्त पार्ने हो भनेर मनन गर्न सक्ने सामर्थ्य जुटाउनु हो। आफ्ना प्रिभिलेजहरु पनि नछाड्ने अनि बोलेर मात्र विभेद हट्छ भन्नु विभेदको बारेमा अनभिज्ञ हुनु र विभेदलाई हटाउनमा आफ्नो सरोकार नभएको ठान्नु हो। हामीमा अन्तरनिहित प्रिभिलेज सम्बन्धि व्यक्तिपरक विश्लेषणले सिध्दान्तपरक सोच र मान्यतालाई उछिन्दै विभेदका बिरुध्द साच्चै सही रुपमा कार्य गर्ने मौका प्रदान गर्नसक्छ।
जसरी हामी "ब्वाँसोले भेडाको खाल ओढेर कहिल्यै भेडा हुन सक्दैन" भन्ने मान्यता राख्छौ, त्यही अनुरुप आफूभित्र विभेदका तत्वहरु पालेर हामी कहिल्यै समाजमा व्याप्त विभेदलाई समाप्त गर्न सक्दैनौ। त्यसैले विभेदका कारकका रुपमा स्वयं आफूलाई पनि स्विकारौ। समाजलाई विकृत पार्ने आफूभित्र निहित ब्वाँसो रुपी विभेदका कारकहरुलाई आफैले समाप्त गर्नुपर्छ। सामाजिक स्तरणबाट प्राप्त भएको सुबिधा आफ्नालागि जोहो गर्दै र आफ्लाई पायक पर्ने निति नियम बनाउदै र अरुमा थोपर्दै समाजले निर्माण गरेका प्रिभिलेजहरुमा टेक्दै उन्नति गर्ने धोको आफूभित्र नपालौ। प्रिभिलेजको खाल ओढेर निर्दोलाई शिकार गर्ने ब्वाँसो नबनौ। बर्षौदेखि सामाजिक स्तरणका नाममा थोपरिएको ब्वाँसोको खाल काढ्ने हिम्मत गरौ।
त्यसैले जब जब विभेदका घटना घट्छन्, "म त त्यस्तो छैन…….", "मेरो परिवारमा त्यस्तो छैन..….” भन्नुभन्दा अगाडि आफ्ना प्रिभिलेजहरु केलाएर हेर्ने हिम्मत राखौ, ती प्रिभिलेजका दायराबाट अलग्गिएर विभेदमा पारिएकाहरुलाई न्यायोचित साथ र सहयोग दिऔ। विभेद हटाउनमा ऊनिहरुभन्दा पनि आफ्नो भूमिका बढि छ भन्ने कुरा बुझौ!