चाँदनी रानीसाबको तीजको दर अझै ३ दिन पर
थियो। तर गरिमालाई चाँदनी रानीसाब कस्ती होलिन्, तिनी कस्ता घरमा बस्दिहुन्, के
खादिहुन्, कस्ता लुगा लगाउदिहुन् भन्ने कुरा जान्ने व्यग्रताले गाज्यो। "किन करसाबकी
श्रीमती म्याडम वा दिज्यू वा अन्य अरु केही सम्बोधनले बोलाइनन् होला? किन
र कसरी तिनी रानीसाब भइन् होला?" भात तिहुन, घरधन्दा
सिद्दिने बितिक्कै गरिमा यस्ता प्रश्नका उत्तर खोज्न पुगिहाल्थिन्। बचेरोलाई माऊ चराले ल्याउने आहाराको हुटहुटीले सताए जस्तै
उनलाई चाँदनी रानीसाबसङ्ग कहिले भेटु, कहिले
बोलु झै भैरहेकोथ्यो। सोच्दा
सोच्दै ऊ आफू स्कुलमा पढेका इतिहासका पाना पल्टाउन थाली। भारतीय फिल्ममा चित्रण
गरिएका रानीहरु उसका आखाँ
अगाडि सचित्र छाउन थाले।
“इतिहासका
रानीहरु देशभक्ति, मातृभूमि रक्षा, राष्ट्रहित र आत्मगौरवले सर्वोपरि भएका महान
नारीहरु थिए। राज्यलक्ष्मी हुन,
लक्ष्मीबाई, जोधाबाई या भृकुटी हुन्, ती अतुलनिय विराङ्गना रानीहरु थिए। रणकौशल र कुटनितिमा पोख्त हुनुका साथसाथै ती रानीहरु जुझारु,
संघर्षशील र आत्मबलका अद्भुत क्षमताका
प्रतिमूर्ति थिए।
राजनितिको गोटीका रुपमा चालिएकी भृकुटीले अन्जान देश अनि नया परिवेशमा रहेर पनि बौद्ध धर्म,
नेपाली कला र संस्कृति तिब्बतमा फैलाएर सारा नेपालीलाई
गौरान्वित बनाएकी थिइन। रानी
लक्ष्मीबाई राजनिति र कुटनितिमा कुशल त थिइन नै, उनि अस्त्र-शस्त्रमा पनि पारङ्ग्त थिइन्। पुरुषसत्तात्मक युगमा नारीहरुलाई अबला निर्बला
आदी मानकका रुपमा चिनाउने प्रचलन
त थियो नै तर पनि त्यस्तो समयमा समेत यी नारीहरु पुरुषहरुभन्दा धेरै कदम अगाडि थिए। उनीहरु कुनै राजाले बनाएका रानी थिएनन्; उनीहरु कुनै राजाका रानी थिएनन्। उनिहरुले घर परिवार र समाजलाई नेत्रित्व
दिनसक्ने “रानीको” छवि आफ्नै बलवुतामा निर्माण गरेका थिए।“
“साच्चै
चाँदनी रानीसाब इतिहासका रानीसाब जस्ती होलिन्”? चाँदनी
रानीसाबलाई भेट्न गरिमाको मन झनै आतुर बन्यो।
शनिवार दिउसोको निम्ता मान्न गरिमा बिहानै नुहाइधुवाई गरिवरि तयार
हुन थालि। त्यसदिन सासूआमाले भान्छा सम्हालिदिइन्। गरिमाले बिहानको खाना बनाउन परेन्। उनि श्रिगांर पटारमा लागिन्।
कप्तान साबलाई मनपर्ने रातो फूलबुट्टे सिफनको सारी उनले अघिल्लो रात नै दराजबाट
निकालेकी थिई। त्यै फूलबुट्टे सारीमा सुनौलो चुच्चे
हिल जुत्ता र गलामा हरियो पहेलो पोतेका साथ लकेटवाला सुनको सिक्री लाउदा गरिमाको
सुन्दरता अझ निखारियो।
गरिमाले दाइजोमा पाएको नया कार कप्तान साब आफै हाक्दै थिए। गरिमा
ठाटिएर अगाडिको सिटमा बसिन्, हत्तपत्त
ब्यागबाट कालो चस्मा निकालेर लगाइन्। कप्तान साबको आँखा देब्रे साइडमा बसेकी
गरिमामा पुगिहाल्यो। "चाँदनी रानीसाब भन्दा त कति राम्री राम्री"! मनमनै
गुन्दै कप्तान साब ठट्यौलो पारामा गरिमातिर
हेर्दै हल्का मुस्कुराए। केही लाज
र गर्वले भरिएको गरिमाको अनुहारको गुलाबीपनमा बाहिरको धप धप बलिरहेको सूर्यको राप थपिएर रातै
भयो।
चाँदनी रानीसाबको घरको ढोकैमा
गरिमालाई ओरालेर कप्तानसाब आफ्नो बाटो लागे।
भित्र बैठक कोठामा गरिमा पुग्दा चाँदनी रानीसाब अजंगको सोफामा शानले
बसेरहेकी थिइन्। मुंगा र मोतीको माला गलामा अनि निक्खर रातो सिफनको सारीमा सजिएकी
रानीसाबलाई झट्ट देख्दा गरिमा केही अत्तालिई,
कही आफुले कल्पना गरेको मुग़ल बादशाह अकबर की रानी जोधाबाई नै साक्षात आफ्नै सामु
त हैनन भनेर। बिहेको प्रितिभोजमा देखिएकीभन्दा
तेजिलो अनुहार गारिमाको थियो। देख्नासाथ
चाँदनी रानीसाबले आफूसंगै बस्न बोलाईन। दर्शन टक्राउदै, आसामीले
साहूसंग ॠण माग्न बसेझै मुद्रामा गरिमा केही सन्कोच मानेझै गरि रानीसाबको छेवैमा
गएर बसि।
"हजुरलाई काम सघाउन भनेर अलि छिट्टै आकी म त, भान्छामा
केही छ भने म गरिहाल्छु। रानीसाब! हजुरले मर्जिहोस्"। शब्द
चयन गरि गरि गरिमाले सोधि। कप्तान साबसंग बिहेपछिका
दिनमा गरिमाले आफ्ना लवजलाई कम्ता राजशी कसि लगाएकी थिइनन्। आफ्नो खान्दानमा “तँ र तँपाई”
चल्दैन भनेर गरिमाकी सासूले घर भित्र्याउदै सचेत गराएकी थिइन्। नन्द, देवरदेखि भान्जाभान्जी सम्मलाई हजुर, राजा र महारानी जस्ता सम्बोधन गर्नमा गरिमा पारंगत भैसकेकी थिई।
“ए
हस्ते! यहाँ २ कप च्या ल्याइदेऊ त। दूधैदूधमा मिठो गरेर बनाऊ है।" रानीसाबले
भान्छातिर फर्केर कराइन्। “सब काम भइसक्यो गरिमा, भित्र
त्यत्राबिधि मान्छे छ्न्। आज त झन करसाबले तीजको पार्टी भनेर ब्यारेकबाट ५ जना
एक्स्ट्रा अर्दली पठाइदिबक्स्याछ। नौ नौ जना छन, गरिहाल्छन नि", शान
र घमण्ड मिश्रित पारामा रानीसाबले भनिन्। "कर्नेललाई
४ जना, जर्नेललाई त आफ्ले भनेजति अर्दली दिन्छ
सरकारले। १० वर्ष जतिमा त तिम्रा पनि दिन आउछन,
गरिमा। अघिपछि ४,५ जना नोकरचाकर राखेर तिमी पनि रानीसाब
हुन पाउछेउ", रानीसाबले गरिमालाई भविष्यका सुखसुविधा
वारे अवगत गराइन्। पैतृक सम्पत्तिमा मान्छेहरु आश्रित भए जस्तै चाँदनी रानीसाबले
अर्दलीहरु राख्नुलाई आफ्नो परम्परा बनाएकी थिइन्, आफ्नो अभिन्न अधिकार सोचेकी थिइन्, शान शौकतको प्रतिक मानेकी थिइन्।
गफकै क्रममा हस्तेले च्या ल्याईपुर्यायो। च्याको सर्को मुखमा
पर्नासाथ रानीसाबको मुख बिग्रियो। ए हस्ते, झन
मिठो बना भन्या त नमिठो बना भन्या जस्तो गरि के च्या बनाको यस्तो? करसाबलाई भन्दिउ? यसपाला शान्तिसेनामा पार्दिउला भनेको त। यस्तै हो भने शान्तिसेना
बेना हिड्छ यसको", रानीसाब बेस्सरी कुर्लिइन्।
यसरी गफिदा गफिदै पाहुनाहरु आउने क्र्म बढ्यो। रानीसाब, रानीसाबका पनि रानीसाबहरु बाहिर अर्दलीले सफा राम्रा
बनाएका चौरमा भेला भए। बिभिन्न परिकारको स्वाद संगै समूह समूहमा रमेका रानीसाबहरुका हासो र ठट्टाका आवाजले वातावरण तरंगित बन्यो। प्रायः
उराठ रहने करसाब र रानीसाबको बङ्ग्ला पनि
तीजको त्यो दिन कालो बादल उघ्रेर देखिएको सफा निलो
आकाश झै सुन्दर देखियो। रानीसाबहरुका
स्वर र उमङ्गका अगाडि सूर्यको तेज पनि फिका फिका जस्तै थियो।
राजा फालेको देशमा तीजको त्यो
दिनमा बग्रेल्ती रानीसाबहरुको जमघट थियो। तर त्यस जमघटमा झांसीकि रानी थिइनन्, जोधाबाई थिइनन्, भृकुटी थिइनन्। त्यहा
कमल करसाब, श्रीध्वज जरसाब, गिर्वाण जरसाब आदीका रानीसाबहरु थिए। त्यहा हस्ते, चन्द्रे, मंगले जस्ता निरिह अर्दलीहरु द्वारा
कहलाइने रानीसबहरु थिए।
कहिले घरधन्दा, कहिले
पाहुनापासा, कहिले पार्टी भोज - यस्तै यस्तैमा
गरिमाका दिन बिते। उनको घर गृहस्थी सार्है राम्रो थियो, कप्तान
साबको प्रगति दिनानुदिन बढ्दो थियो र सासूससूराको आरक्षण आमाबुवाको समान थियो।
हेर्दाहेर्दै गरिमाका लगालगी दुई छोरी
भए - एउटी छोरी २ र अर्की ४ बर्षकी। “भगवानले जे दिन्छन त्यही हाथ थापेका छौ, नाति नभएपनि हामी खुशी छौ”, कसैले सोद्धा यही जवाफ निस्कन्थ्यो गरिमाको
सासूससूराको मुखबाट। गरिमाको गृहस्थी अत्यन्त खुशहाल थियो।
गएका ५ - ७ बर्षमा गरिमाको जिवन बद्लियो, घर गृहस्थीमा ऊ निखारिइदै गई, कप्तान साब पनि मेजरमा पद्दोनत्ति भए। धेरै चिज बदलिए तर गरिमाभित्र एउटा प्रश्न भने सदा गढिएर बस्यो - "म कहिले रानीसाब हौली?"
तर भन्छ्न नि केही
प्रश्नका उत्तर सिर्फ समयले दिन सक्छ।
समयसंग गरिमाको त्यो प्रश्नको जवाफ थियो तर त्यो प्रश्नको उत्तर जुन
रुपमा आउनेवाला थियो त्यसले
गरिमाको, मेजर साबको र ती दुईका परिवारको सोचं र सम्बन्ध नै परिवर्तन गर्नेवाला थियो।
जिन्दगीको दौडमा, अघि बढने रहर सबको
तर,
मिल्छ सबलाई त्यही, जो इच्छा छ समयको
क्रमशः …………
सारै राम्रो लेखन अनि कथाको बहाब.... भाग ३ को प्रतिक्षामा...
ReplyDeleteThank you dear Kamala ji. You so very inspire and encourage me.
ReplyDeleteSupense.. 🤔.. Wow.. Next episode hai.. Waiting..
ReplyDelete