केटाले त हुन्छ भन्यो रे!
"हुन्छ भन्यो रे"! हुन्छ भन्यो रे!
त्यस दिन गरिमाको घरमा दिनभरी त्यही एउटा कुरा दोहोरीरह्यो। एउटा
सानो प्वालबाट कुनै तेजिलो प्रकाश बाहिर निस्के जस्तो गरिमाको परिवारको सारा खुशी
त्यही एउटा सन्देशबाट उत्पत्ति भैरहेको थियो। कप्तानलाई कजाएर खाने भई, कति भाग्यमानी! "हाम्री गरिमा मात्रै कम छे र? १२
क्लास पढी हालेकीछ के रे। ज्वाईसाबका खलक खान्दानी छन, अरु पढाउन क्यै कसर छोडदैनम भनेकै छ्न्। कैले
गार्हो पारिन यस्ले मलाई,
सानैदेखि शान्त"! आमैले गरिमाका
गुण र स्वभाव एकलट एकै सासमा ओकलिन्। आफ्नै
बिहेका कुरा आफ्नै अगाडि सुनिरहदा गरिमा भित्रभित्रै लजाएकी त थिई। तर कप्तान
साबसङ्गको सुनौलो दाम्पत्य जिवन पनि उ कल्पिदै थिई। उन्को मुहार पुर्णेको जुन
जस्तो धपक्कै बल्यो।
"हजुरकी छोरी हाम्री अब, क्यै
क्यै दाइजो दिनुपर्दैन है हाम्लाई। भगवानको कृपाले सबथोक छ हाम्रो। एकसरो सारीमा
गरिमा हाम्लाई स्विकार छ है हजुर!", स्वयम्बरका
दिन कप्तान साबकी आमाले ५० जनाको अगाडि आफ्नो
बडप्पन देखाइन्।
कुरो सुनेर फुरुङ्ग परेका गरिमाका दाई २ हप्ता नपुग्दै फर्निचर
साहुजीलाई लिएर कप्तान साबका घर पुगे। "एक्ली बहिनीलाई कसरी खाली हात पठाउनु
र भनेर हजुरसङ्ग सल्लाह गर्न आको हजुर!" गरिमाका दाईको कुरो भुईमा झर्न
नपाउदै कप्तान साबकी आमाले फर्निचर साहुजीलाई नवदम्पतिका कोठा देखाउन लगिन्। कोठाका भित्तामा वालपेपर, भुईमा कारपेट, दराज, झ्याल र ढोकामा पर्दाका नाप लिएर बाहिरिनै
लाग्दा कप्तान साबकी आमाले दाईलाई
बोलाएर अप्ठ्यारो मानेझै भनिन् “बाबु!
त्यही एउटा कोठामात्र सजाको राम्रो नदेखिएला, यो
बैठक कोठामा पनि उस्तै खालका एक सेट कार्पेट, पर्दा, दराज र टिभी मिलाइदिनु है। कुनाबाट कप्तान साबका बुवाले छुस्स थपे, “कोठा ठूलो छ - ४० इन्चको टिभी त चाहिएला। फेरि सब नया अनि त्यो थोत्रो फ्रिज र ग्यारेजमा
राखेको कार पनि फेर्न पाए हुन्थ्यो”! कप्तान
साबकी आमाले आफ्नै मन खोतल्दै गरेझै भनिन्, “बाबु! तिमी हाम्रै छोरा सरहका मान्छे, अन्यथा
नलिनु है। बिहेमा गहनाले ढाक्नु त पर्दैन तर नि लोकलाजको त ख्याल राख्नै पर्यो, एकसरो गहानापात पुर्याउनु है गरिमाको आङ्गमा।
छैन भने अरुको मागेर काम चलाएपनि हुन्छ, बिहेपछि
फिर्ता गरुला बरु।"
स्वयम्बरका दिन कप्तान साबका आमाबुवाले समाजका अगाडि देखाएको बडप्पन
गरिमाको दाईको अगाडि छताछुल्ल भई पोखियो। आखिर पैतृक सम्पति दिनुपर्ने होइन क्यारे, यसो समाजलाई देखाउन मात्रै भएनि झिटी गुन्टाको चलन त गर्नै पर्यो भन्दै अघिल्लो रात श्रिमतीसङ्ग कुरा गरेका
गरिमाका दाईको अनुवार एकाएक सेतो फुक्को बन्यो। त्यहा भन्नुसुन्नुपर्ने अरु केही थिएन। ती दुवै परिवार आफैले निर्माण गरेको
समाजको ऐना एकअर्कालाई देखाइरहेका मात्र थिए। दाइजो लिने वा नदिने भन्ने कुराको
त्यहा कुनै गुन्जाइस थिएन किनकी लोकलाजको
सृजना समाजमा गर्ने तत्व ती दुई परिवार आफै थिए। प्रत्यक पटक सिनेमा हेर्दा दाइजो
कुप्रथा भनेर घरको चार दिवारभित्र कुर्लिनेमा अव्व्ल ती दुई परिवार नै थिए। आधुनिक समाजकालागि भिरेका एकअर्काका मुकुण्डो
त्यसरी उत्रिएपछि गरिमाका दाई र कप्तान साबका आमाबुवा धेरै बेर त्यहा आमनेसामने उभिन सकेनन्। दानविर झै मुठ्ठी फुकाएर
दिन्छु भनेर छाती फुलाएर भित्र छिरेका गरिमाका दाईको अनुहार त्यहाबाट बाहिर
निस्कदा अमिलो निचोरेको जस्तो थियो।
१८ इन्चको चाँदीको खड्कुलोमा खुट्टा धोएर, “मारे पाप पाले पुण्य” भन्दै आमाबुवा र दाईले गरिमालाई बिदा गरे।
ससुराली घरमा गरिमा निकै खुशी रहन लागिन्। बिहान बेलुकीको दालभात
पकाउन उनलाई केही गार्हो थिएन। सासुले तरकारी केलाइदिन्थिन्। बुवाले बाहिरी किनमेल धानेका थिए। मर्निङ्ग
वाल्क गाको बेला एक छाक पुग्ने साग ल्याउन उनि कहिल्यै छुटाउदैन थिए। कप्तान साबको
तलबले घरखर्च खासै धान्दैनथ्यो तर काठमाण्डौको मुटुमा रहेको घर बाहालको आम्दानीले
उनिहरुको परिवारलाई मज्जाले पुगेकोथ्यो। पाहुनापासा देखि आमाजुसम्मलाई प्राय हरेक हप्ता घरमा बोलाएर एक छाक ख्वाउनु
गरिमा आफ्नो धर्म ठान्थिन्। नठानुन पनि कसरी? बिहेअघि आमाले उनलाई असल बुहारीका संस्कार बारे पोख्त
पारेकी थिइन्। “ठलो स्वरमा नबोल्नु, आशुँ
पिएर पनि बाहिर हास्नु, कसैलाई जवाफ नफर्काउनु!” गरिमाको आमाको माया र सल्लाह बिहेको १ हप्ता अघि अचानक पलाएको थियो। गरिमा फुरुङ्ग परेकी थिई।
सासु र आमाको
माया र सल्लाहले गरिमा घर गृहस्थीमा खूब निपुण हुदै गई। समयसङ्गै घरजममा ऊ यत्ति
रमिई कि गरिमाका आफ्न्त र साथीसङ्गीका घेरा कतिखेर
साघुरो बन्दै गयो स्वयं उनलाई पनि पत्तो लागेन। माइतबाट उनकी आमाको उर्दी बेला बेलामा आउथ्यो, " त्यो दिक्षासङ्ग धेरै फोनमा कुरा नगर है।
त्यसको पो काम छैन्। लोग्नेको
घर गर्न सकिन, अहिले माईत आएर बस्या छे। हेर है!
त्यसले तेरो पनि घर बिगार्ली नि।“ १२ क्लास
पढेकी गरिमालाई एम ए पास गरेकी दिक्षाले उचालेर बर्बाद पार्दिने हो कि भनेर आमाले सचेत
गराउदा पो गरिमा झसङ्गै भई।
पढाई लेखाईको कुरो सम्झनासाथ "पढेर भन्दा पनि परेर जानेका" उनका आमा र सासु उदाहरण बनेर उनको आखा
अगाडि आउथे। एकदिन दिक्षाबाटै सुनेकी थिइन उसको एनजीओले
महिला सशक्तिकरणका तालिम दिएको बारे। म जस्ता गृहिणीलाई के काम तेरा यस्ता कुरा
भन्दै दिक्षालाई पन्छाएकी थिई गरिमाले। त्यसै राति आमासङ्ग फोनमा कुरा गर्दै दिक्षाको खिसीटिउरी गर्न भ्याई गरिमाले, "आमा, त्यो
दिक्षाको त कामै गृहिणीहरुलाई उचालेर घर गृहस्थी बिगार्ने रैछ।" आमाले दरो
सही थापिन्, "ख्याल गरेस है छोरी, त्यस्तासङ्ग बच्नु है।" दिक्षा जस्ता
साथीलाई उनले आलटाल र टालटुल
गर्दै विस्तारै पाखा लगाई। साथीहरुलाई मात्र होइन उनले १२ कक्षापछिको
पढाईलाई पनि पाखा लगाइन्। होम साइन्समा बिएमा भर्ना भएकी उनलाई क्याम्पस जान मन नै
लागेन। हुन पनि हो, आमा र सासुले नै उनलाई होम साइन्समा
विद्धावारिधी गराउदैथे। क्याम्पस जाबोमा पढेर के सिक्नुथ्यो र उनलाई!
कप्तान साबले बेलुकीको भूजा ज्युनार गर्दागर्दै सम्झे, "ओहो! गरिमा सुन त………, चाँदनी रानीसाबले तिम्लाई तीजको दर खान
निम्तो गरिबक्स्याछ। जसरी पनि जाऊ है। कमल करसाब मेरो हाकिम, तिमी त जसरी नि जाऊ। बिहानै जाऊ, काम पनि यसो सघाइदेऊ। भोलिपसि प्रमोशनको बेला
बुढो काम लाग्छन क्या!” नाम बारम्बार सुने पनि भेटेको भने थिइनन्
गरिमाले।
उनको मुखबाट फुत्त निस्क्यो - चाँदनी रानीसाब?क्रमशः …………………..
Next episode pls.. 👌
ReplyDelete