ईश्वरको प्रसाद सरह दुई नातिनीहरुलाई माने पनि
गरिमाको सासूभित्र एउटा नाति काखमा खेलाउने भित्रि लालसा थियो नै। घरको चार
भित्ताभित्र नातिको आवश्यकता गुञन्थ्यो तर घरका भित्ता छेडेर त्यो आवाज कहिल्यै बाहिर पुगेन। सन्सारका लागि
मेजर साबको परिवार एउटा आदर्श परिवार थियो। "न दाइजोको लोभ, न बंश टिकाउने नातिको आश" - सार्है असल
परिवार भनेर छरछिमेक कुरा गर्थे। घरभित्र
गुंजिने "छोरा, नाति" को चाहना गरिमाको लागि बोझ
बन्दैथियो तर पनि उनले ती आवाजलाई प्रतिकार गर्न सकिन। ती आवाज आफ्ना दुई
छोरीहरुमाथि अन्याय हो भनेर बुझ्न सकिन। ती आवाज आफ्नै मातृत्वको अपमान हो भनेर
सोच्ने विवेक गरिमामा थिएन। त्यो विवेक आओस पनि कसरी - यत्तिका वर्षमा ऊ त
संस्कारी गृहिनीमा रुपान्तरण भैसकेकी थिई।
दोहोरो बोल्नु वा सवाल जवाफ गर्नु गरिमाको
संस्कार थिएन।
आमाजू र भाउजूले गरिमालाई झारफुक गर्न कसकोमा
लगेनन्, कुन पाठपूजा गराएनन्। तर गरिमाको
गर्भमा छोरो बसेन। रिटायर भएका श्रीध्वज जरसाबकी रानीसाबकी डाक्टर बहिनीले अवैध अल्ट्रासाउण्ड
गरेर पटक पटक छोरीको हत्या गरिमाको गर्भमै भ्रुण अवस्थामै गराइन। तर कैयौ उपाय अनि लाख कोशिश गर्दा पनि गरिमाको गर्भमा छोरो बसेन।
मेजरसाब करसाबमा पदोन्नति भए। गरिमा रानीसाब भई। तर अहँ! गरिमाले करसाबको बंश
चलाउने छोरो दिन सकिन। कुनै अज्ञात रोगले विस्तारै गाज्दै लगे
सरी ऊ भित्र कही कतै नमिठो दुख्न शुरु गर्दैथ्यो। शरिरको अंग प्रत्यंगका दुख त गरिमाले शायद
ठम्याउथि होला, शायद त्यसको औषधी मुलो गर्न ऊ जान्थि होला। तर, ऊ भित्र जे दुखिरहेको थियो, त्यो
उनको मन थियो। त्यसको औषधी खोज्न जानु कहा?
आफूभित्रका दुखाईलाई बेवास्ता गर्दै दैनिकी र व्यबहारमा
गरिमा अभ्यस्त हुदै गई।
केही दिनदेखि गरिमाकी जेठी छोरी निदाउरी रहन
लागेकी थिई। १४ वर्षकी ऊ पढाईमा निकै राम्रो थिई।
स्कूलमा ऊ सबकी प्यारी थिई। आंगनका फूलहरुको स्याहार सुसार गर्न ऊ निकै मन पराउथी। ऊ
प्रकृतिमा सार्है रमाउथि। तर
अचानक उसमा नैराश्यता छाउन थालेको थियो - न उनि कसैसंग राम्रो कुरा गर्थिन, न बाहिर फूल प्रकृतिमा घुल्थिन्। करिब दुई
हप्ता देखि उसलाई नियालिरहेकी गरिमालाई छोरीको बदलिएको व्यबहारले उकुसमुकुस
बनाइरहेको थियो। “भक्खर युवा अवस्थामा पुगेकी छोरीलाई
सोध्यो भने शंका गरेको भनेर उल्टो रिसाउने पो हो की”? अनेकन मनोवादका बिच शनिवारको दिउसोको समय पारेर गरिमाले छोरीलाई
मुखै फेरेर सोध्छु
भनेर ठानि।
“छोरी महारानी, तिम्रो स्कूल त राम्रै चलिराख्या छ? तिम्ले बाहिर बगैचाको फूल नहेरेर कस्तो झारपात आएर नराम्रो भईसक्यो हेर
त! उता भृकुटी मण्डपमा फूल मेला लागेको रैछ, आज
दिउसो किन्न जाउला है?” गरिमाले यति भन्दा भन्दै छोरीको मुख
घोप्टिएर झण्डै घुडामै पुग्न लागिसकेको थियो। “छोरी, तिमी खुशी त छ्यौ? तिम्लाई के भाको छ भनन, बा! तिमी खुशी त छ्यौ? तिमीलाई कसैले केही पो भन्यो कि? ममिलाई भनन महारानी। केही बोलन,
बाबा"।
गरिमाको सामिप्य र मायालु पाराले छोरीलाई
पगाल्न धेरै बेर लागेन। ज्वालामुखी फुटेर लप्का लप्का लाभा निस्किएझै उनका आंखाबाट
ढिक्का ढिक्का भएर आँशू वर्षिए। गरलम्म गरिमालाई अङ्गालो हालेर छोरी आफ्ना
रोदनलाई आफैभित्र थिचेर बेस्सरी रोई। अचानक छोरीको त्यो अवस्थाले गरिमा अकमक्क
परि। सोच्दै नसोचेको यो के हुदैछ, के
भयो छोरीलाई भनेर गरिमा आत्तिइ। “कसले
के गर्यो मेरो बाबालाई?” उनको मुटु गाठो परेर आयो। सोच्न नसकेर टाउको माथि सय मनको भार कसैले ह्वात्त राख्देको
जस्तो भयो। हजारौ बेदना तछाडमछाड गर्दै उनि भित्र उर्लेर आए। २०१३ सालमा
केदारनाथको बाढी गरिमाले टिभीमा मात्र देखेकी थिई, आज त्यस्तै बाढी प्रतक्ष्य आफैभित्र ऊ महशुस गर्दै थिई।
“छोरी, मेरी
महारानी, के भयो? भनन बा"! केही सम्हालिदै गरिमाले फेरि सोधि।
“ममी, कमल
अन्कल! मलाई कमल अन्कल मन पर्दैन। हजुरहरु बैठक कोठामा कुरा गरेर बसिरहदा कमल
अन्कल हाम्रो कोठामा आइसिन्थ्यो। मलाई कमल अन्कलले नराम्रोसंग छोइसिन्थ्यो। हिजो
हामी सबजना कमल अन्कलको घरमा गएको बेलामा, ह्वाले
मलाई कोठामा बोलाइस्यो……”।
यत्ति सुन्दासाथ गरिमाका कान टिनिनिनि……. एकहोरो बजिरहे। उनलाई सारा शरिर गर्हुङ्गो भएर पैतालाले भुईं
छेडेर आफै पातालभित्र भित्र भासिदै गए जस्तो भयो। ठूलो मैदानमा जोरको हावाले हुत्त्याएर गोल गोल घुमाउदाको
जस्तो उनको शरिर लोलिएर आफ्नै वजन थाम्न नसक्ने भयो। छोरीले के भनि, कसो भनि गरिमाले सुन्न
सकिन - उसका कान बज्न छोडेनन्। कान टिनिनिनि…….बजिरहे।
ऊ करिब करिब बेहोसीकै हालतमा छोरीको कोठाबाट बाहिरिई।
त्यो दिनभर गरिमा कोठाबाट बाहिर निस्किन। सन्चो
भएन होला भनेर सासूले अर्दलीलाई खाजा बनाउन लगाएर खाइन्। शनिवारको दिन पनि करसाब
उही कमल जरसाब र चाँदनी रानीसाबका पुगेका थिए। करसाबलाई चाँदनी रानीसाब खूब मनपर्न थालेकी थिइन्, चाँदनी रानीसाब लाई पनि त्यस्तै! शायद यही
बदलिदो सम्बन्धको भनक कमल जरसाबलाई
परिसकेको थियो। गरिमाकी निर्दोष छोरीले शायद त्यही जन्म हुन लागेको अवैध सम्बन्धको
बदला भोगेकी थिइन्।
घण्टौपछि गरिमा कोठाबाट बाहिर निस्की।
भान्छासम्म पुग्दा उस्लाई कही आफूले सपना देखेको त हैन भन्ने लाग्यो। "सपना
नै होस्, होला"? खंग्रिएको पाखुरामा एकचोटी चिमोटेर पनि हेरि।
अह! त्यो के सपना हुन्थ्यो र! आँशूका बलिन्धरा झार्दै गरिमाले कुरो सासू-ससूरालाई
सुनाइ। घाममा सुकाउदा सुकाउदा खुइलिएको कपडा जस्तै सासू-ससूरा दुवैको अनुहारको रंग
उड्यो, ओठ सुक्खा भए। आगोको भुङ्रोमा परेजस्तो गरि पूर्पूरोमा हात
लगाएर सासू रुन लागिन्। आफ्नो छाती सुम्सुम्याउदै ससूराले बोले -
"मेरो छाती फुट्ला जस्तो पो भो"।
"कमल जरसाब त सार्है राम्रा मान्छे, त्यसो गर्लान र? आजसम्म कसैको मुखबाट उनको बारेमा नराम्रो सुनेको छैन। बुहारी तिम्ले
नातिनिलाई राम्ररी सोधेकी हौ त?", ससूराले
यसरी सोध्दा सासूले हल्का
समर्थन गरेझै मुन्टो हल्लाइन्। गरिमाले सासू-ससूरालाई बर्षौदेखि श्रद्दा र
सम्मानको भेटी चढाएकी थिई,
ठाडो शिर गरेर कहिल्यै बोलेकी थिइन। सासू-ससूराको त्यो एक प्रश्नले उनले आफू उभिएको धरातल भेटि। सासू-ससूराको
सोचको यथार्थ एकाएक गरिमाको सामुन्ने उन्लाई नै खिस्याएझै गरेर समयले टिगंरिग्रं उभ्याइदियो।
हो, समय
बलवान छ!
चाँदनी रानीसाबको घरमै डिनर गरेर करसाब राति ११
बजे मात्र फर्के। मुटुमा बटारिएको गाठो खोल्दै गरिमाले आँशूका भेल बिच करसाबलाई
सबिस्तार लगाई। यी सब सुनेर रिसले आगो होलान भन्ठानेकी
थिई गरिमाले, करसाब त उल्टो खनिए, "जे मनलाग्यो त्यही नभन है, यस्तो
कुरा पनि यति सस्तोसंग भन्ने? कमल
जरसाबलाई नराम्रो भन्ने मान्छे हाम्रो सारा आर्मिमै छैन। छोरीलाई राम्रोसंग सोध्या
हो तिम्ले? जरसाब त्यस्तो हुनै सकिबक्सन्न । यस्तो
नीच आरोप लाउने? म छोरीलाई भोलि बिहान आफै सोध्छु। मेरो
प्रमोशनको सवाल छ, यस्ता वाहियात कुरा नगर गरिमा"! उनले
यसरी ठोकुवा गरेर भनेकी मानौ उनले आफ्नै छोरीलाई भन्दा बढी जरसाबलाई चिनेका थिए। उनलाई
आफ्नै प्रमोशनको फिक्रि थियो।
हर बर्ष आफैले रट्याएका स्वस्थानी ब्रत कथाका
राक्षसी पात्रका दाह्रा जस्ता पितृसत्ताका दाह्राहरु गरिमालाई बिचमा पारेर ताण्डव
गर्दै थिए। उन्ले त्यस प्रवृत्तिका ताण्डव न पहिले रोक्ने प्रयास गरेकी थिई, न आज नै केही गर्न सकी। ती ताण्डव गरिमाको
दैनिकी बनिसकेको थियो। उन्लाई पितृसत्ताका नियमहरु प्राकृतिक लाग्थ्यो, आज
पनि त्यही लाग्यो।
सयौ सुइराले एकसाथ घोचेजस्तो भएको थियो
गरिमालाई। ऊ त्यो रातभर पिडामा छटपटाइरही। उनका
आँखामा आँशू सिद्दिएर रित्तो भएको थियो। तातो फलामलाई लोहारले चुट्दा चुट्दा
गालेको जस्तो मनका घाउले उनको शरिर सिथिल बनायो। उनका आँखामा निन्द्रा छाएन, बरु शून्यताले उनलाई निल्यो। त्यही शून्यतालाई चिर्दै रात छ्ल्ने प्रयास
गर्दैथिई, झल्यास्स शून्यताको अर्को शिरानमा उनले
दिक्षा देखि। हो, उही दिक्षा जसको मित्रतालाई उसले जानि
जानि बर्षौ पहिले आफैले पन्छाएकि थिई।
बाह्र पढदासम्म गरिमा र दिक्षा उस्तै उस्तै
थिए। पढाईको होस या बिचारको मापनमा दुबै प्रगतिशील थिए, दुबै अव्वल थिए। तर एउटै माटो, हावापानीमा उम्रेका दुई रुख हुर्किदासम्ममा त
दुई थरि जस्ता भए। सानैमा निमोठेर कुनै कलात्मक बस्तु जस्तो गरिमा बिहेपछि घरमा
सजाउने कलात्मक सो पिस भएकी थिई। उनका कालिगढले उनलाई जस्तो रुपमा ढाले, ऊ त्यस्तै रुपमा परिणत भई। उनका इन्द्रियहरु
निष्क्रिय भए - बोल्ने, देख्ने, सुघ्ने शक्ति कमजोर हुदै गयो। दिक्षाले भने
आफ्लाई तिखार्दै लगि। उन्मुक्त्त वातावरणमा, कुनै
रोकटोक, संकोच बिना ऊ बढ्दै गई। आजको दिनमा
दिक्षा दह्रो गरेर उभिएकि थिई। गरिमालाई भने आजको दिनमा उभिनलाई पनि थांग्रो चाहिने भएको
थियो।
फेरि गरिमाको मनले अर्को तर्कना गर्यो। छोराको
आशमा उनले कैयो निर्दोष छोरीहरुको आफ्नो गर्भमा हत्या गरेकी थिई। समाज र घर
परिवारको नाममा ती छोरीको हत्यामा ऊ आफै संलग्न थिई। देवकीका सन्तानलाई त कंशले
जन्म सम्म दिन सक्ने व्यबस्था गरेका थिए। करसाबको खलकमा त ती छोरीहरु गर्भमै तुहाइएका
थिए। " ती
नजन्मिएका छोरीहरुको पापले कही कतै करसाबको बंशलाई नै त पोल्ने होइन? नजानेर गरेको गल्ती र पापलाई पूजा पाठ गरेर
पखाल्न सकिएला तर उनिहरुले त हत्या जस्तो महापाप जानि-जानि, केलाइ-केलाइ गरेका थिए। भन्छ्न महापापले त बंशलाई नै पिरोल्छ। के साच्चै त्यस्तै
हुने संकेत त हैन यो कही?"
पश्चाताप मिसिएको आफ्नै तर्कनाले
गरिमालाई अझै असैह्य हुने गरि पोल्यो।
कुनै दिन धप धप बलेर सबलाई उज्यालो दिने गरिमा त्यो रात भित्रभित्रै जल्दै थिई। ऊ भित्रभित्रै
मन्द मन्द डढेलो सुल्गिरहेको थियो। बल्दा बल्दै दियोको तेल रित्तिदै गएझै गरिमा भित्रको आत्मविश्वास र साहस पनि खरानी बन्दैथियो। बाहिरको
तापले भन्दा आफूभित्रको खरानीले उनलाई बढी पोलिरहेको थियो।
बिहानको पहिलो प्रहरमै छोरीको कोठामा हान्निइदै
पुगि गरिमा। ढोका खोल्ने बितिक्कै उनले जुन दृष्य देखिन्, त्यसले उनको आत्मालाई नै कम्पायो। कलिलो उमेरमा गरिमाकी छोरीले डोरीमा पासो हालेर आत्महत्या
गरेकी थिई। हुत्तिएर छोरीको खुट्टा समाउन पुगि ऊ। छोरीका चिसा खुट्टाले गरिमाका हात र मुटु चिसा बनाए!
समाप्त!