सहनशीला शुशीलाहरु
थप्पड़ खान्छन, पचाउछन र त्यसैलाई आफ्नो नियति ठन्छन। ती सुशीलाहरु
आफ्ना सन्तान दर सन्तानलाई फेरि पनि सहनशीला सुशीला बन्न प्रेरित गरिरहन्छन।
भिमनिधि तिवारीकी "सुशीला" र अनुभव सिन्हाकी "अमृता"
करीब ६० बर्षअघि भिमनिधि तिवारीले लेखेको नाटक सहनशीला सुशीलाकी
मुख्य पात्र सुशीला कर्नेलकी छोरी अनि ठकुरीकी बुहारी हुन। सुशीलाका लोग्नेले
उनलाई चुल्ठोमा समातेर कैले खुट्टाले, कैले कमरपेटीले
निलडाम बनाउछ। गाली गलौज अभागिनी, सत्यानाशिनी भनेर अपमान गर्छ। तर सुशीला
संस्कारी हुन। उनको जन्मघरमा सहनशीलता बारे सिकाएको पाठ ऊनि हुबहु पालन गर्छिन, सुशीला सुँक्क-सुँक्क रूँदै जुठा माझ्दै
गर्छिन्। मेरो हृदय-सम्राट हजुर नै होइबक्सिन्छ भन्छिन। लोग्नेले बाबुलाई गाली
गर्ने जस्ता क्रियाकलाप दोहोर्याइरहँदा पनि ऊ समुद्रझैँ शान्त भएर बस्छे। ठिक उल्टो सुशिलाको लोग्ने जुवाइँ साहेब हो। ऊ
क्रोधी छ, ब्याभिचारी छ। उसको स्वभाव स्थिर किसिमको छैन।
ऊ संवेगलाई नियन्त्रण गर्न सक्दैन। गिलासको शरबत हुत्याइदिन्छ, गिलास झ्यालबाट
फ्याँकिदिन्छ। ऊ विनयशून्य छ।
तर अनेकौ उत्पीड़नका
वावजुद पनि सुशीला आफ्नो लोग्नेलाई प्रेमभाव राख्छिन र भन्छिन "मेरो त
बाँचुञ्जेलसम्म हजुरउपर यस्तै प्रेम रहनेछ"। आफूप्रति लोग्नेको क्रुरता, उत्पीडन र
अन्यायलाई सजिलै सुशीलाले क्षमा गरेर दुवै सुखी जीवन बिताउन अग्रसर भएको देखाएर नाटकको अन्त्य हुन्छ।
अब फास्ट फरवार्ड! ६ दशकको अन्तरालमा
तिनै सुशिलालाई हिन्दी सिनेमाका अनुभव सिन्हाले अलग रुपमा प्रस्तुत गरेकाछन – अमृताको रुपमा चलचित्र
थप्पड़मा। अमृता पढ़ेलेखेकी र आफ्नै स्वीकारोक्तिमा बनेकी कुशल हाउसवाइफ हुन। ऊनि
घरको सारा काम गर्छिन। लोग्नेको हर चिजको ख्याल राख्छिन। सासूआमाको सेवा सत्कार गर्छिन। उनका लोग्ने एक कम्पनीमा
उच्च पदमा काम गर्छन। ऊ बिहान चाड़ै उठन सक्दैन, न त एक कप चिया बनाउने उसको ढंग छ। श्रीमतीलाई
बाहिरी दुनियामा फुर्क्याएर प्रस्तुत गर्नुमा ऊ माहिर छ।
तर सधै अमृतालाई
माया र विश्वास गर्ने उनका लोग्नेले एकदिन अचानक परिवार साथीभाईको भेलामा एक थप्पड़
हान्छन। त्यो थप्पड़को चोट उनको गालामा होइन, उनको व्यक्तित्व र आत्मसम्मानमा लाग्छ। सम्पुर्ण शरिर निचोरिएर
आत्मा नै निस्याउने त्यो थप्पड़ उनीहरु बीचको सम्बन्ध
र अटूट विश्वासमा अचानक मेघ जस्तो बर्सिन्छ। त्यो थप्पड़ अमृतालाई सह्य हुन्न र त्यही कारण दर्शाएर उनले लोग्नेबाट
डीबोर्स लिएको चित्रण सँगै फ़िल्मको अन्त्य हुन्छ।
सहनशीलताको दायरा
सुशीला र अमृता दुई भिन्न कालखण्ड र
परिस्थितिका समानान्तर पात्र हुन। मात्र तिनको
शाहनशीलताको दायरा फरक छ। सुशीलाहरु प्रेमको नाममा आफ्नो आत्मसम्मान गुमाउन तत्पर रहन्छन; अमृताहरु आत्मसम्मान संग कतई केहीको समझौता
गर्दैनन्। सुशीलाहरुको सहनशीलताको दायरा धेरै फराकिलो हुन्छ। त्यहाँ समाजले प्रतिपादन
गरेका हर परिभाषा अटाउछन, तिनको कुनै परकाष्ठा
हुदैन; अमृताहरु आफै सहनशीलताको सिमाना तय गर्छन, उनिहरु आत्मसम्मानको बलि
चढाउदैनन्।
सहनशील सुशीला सृजित भएको ६ दशकपछि पनि हाम्रो समाजमा महिलाको नियतिमा खासै परिवर्तन भएको छैन। आज
पनि बाऊआमा छोरीहरुलाई सहनशील बन्ने तालीम दिएर थाक्दैनन्। मारे पाप, पाले पूण्य भनेर खड़कुलोमा खुट्टा धोएर दान गर्न नचुक्ने नाता कुटुम्ब तपाई हाम्रो दुई बित्ताको परिधि
मैं रहेका हुन्छन। त्यस्तै छोरीबुहारीलाई सहनशीला बनाएर प्रश्तुत गर्नुलाई आफ्नो
प्रतिष्ठाको विषयसंग जोड़ने धेरै छन।
समाज न हो, अझै पनि आमाबाऊ, नाता कुटुम्बहरु अमृताहरुको आत्मविश्वास देखेर डराउछन। छोरी
बुहारीको आत्मसम्मान संग जिउने अधिकारलाई घरेलु जिन्दगीको फोस्रो ढ्वाङ मान्छन। स्वाभिमानलाई दांवमा राखेर पनि सम्झौता गर्नुपर्छ
भन्ने मनोवृत्तिलाई बढ़ावा दिन्छन। घर समाजको आंखामा
राम्रो बन्ने दौड़मा कैयौ अमृताहरु दृष्टिभ्रम भएर सहनशिला बन्न होमिन्छन। आजका
अमृताहरु प्रेम, परम्परा र संस्कारको नाममा सहनशीलताको सिमाना
खुकुलो पार्दै जान्छन – तिनिहरु अपमान र अपशब्दको पर्खालले आफूलाई
विस्तारै घेर्दै
लग्छन, अनि थप्पड़ र लात्ति पनि सर्लक्क पचाउन सक्ने
बन्छन। सहजै सहनशीला बन्दै जान्छन।
त्यसैले त अहिलेको समाजमा धेरै सुशीला र थोरै अमृता छन।
सहनशीलताको पाठ
सुशीला ती हजूरआमा हुन जो हजुर्बाको अपहेलनालाई
पनि प्रेम सम्झेर तिनको चरणको पानी नपिई सुत्नुलाई आफ्नो अपराध ठान्छन। सुशीला ती
आमा हुन जो करेसा बारी गरेर, दुई अटल लुगा धोएर र गाईवस्तु स्याहार गरेर रातको
खानासँगै खुईय गर्दै लोग्ने र छोरोलाई उमालेर बाक्लो पारिएको दूघ ख्वाएर स्वर्ग
पुगेको अनुभूति गर्छन। सुशीला ती आधुनिक बुहारी हुन जो पाहुनापासाको सत्कारमा
कुशलता प्रदर्शन गर्दै, कुनै भक्तिनीको झै
श्रीमानले नभ्याएर ट्वायलेटमा फालेका भित्री वस्त्र प्रेमपूर्वक धुन्छिन अनि बिदेशबाट
नन्दले पठाएको क्रिम दलेर श्रृंगाररस भर्छन।
आज पनि कैयौ महिला सहनशीला सुशीलाको पात्रलाई आफ्नो जिवनमा गीता र स्वस्थानी ब्रतकथा जस्तै दिनहु व्यबहारिक अभ्यास
गर्छन। दुईजना पाहुनाको अगाडि आमाबाऊ, सासुससुराले सहनशीला भन्दिए मात्र पनि, आफ्नो सम्मान बढेको महशूस
गर्छन। तिनले आफ्नो जिवन धन्न भएको सम्झन्छन। त्यस्ता
प्रसंशाले फुरुङ्ग पर्छन अनि खोक्रा आत्मविश्वास हावा
भरिएको बेलून जस्तै अकासिन्छ। समयसँगै त्यो नित्य कर्म बन्छ र दिनानुदिन अझै चुलिदै
जान्छ। यति चुलिन्छ कि कूटपिट गरेर बनेका टाटा र निलडामलाई पनि फिस्स हासेर लुकाउने
कलामा पोख्त बन्छन। घरसमाजले त्यसलाई थप प्रोत्साहन
दिन्छ। यसरी समयसंगै ती भिमनिधि तिवारीको
सहनशीला सुशीलामा रुपान्तरण हुन्छन।
सुशीला र अमृताको परिवेश र समय भिन्नाभिन्नै भएनि घटनाको जरा
भने एउटै ठाउँमा गाडीएको छ – पितृसत्ताको अहममा। सुशीलाहरु उत्पादन गर्ने पितृसत्तात्मक समाज ज्यूँ का त्युं
जंगली मूढो सरि अचल छदैछ। त्यसलाई मलजल हुजुर्बा, बा, छोरानातिले गरेकैछन।
त्यसलाई थप प्रतिस्थापित गराउन हजुर्मा, आमा, छोरी बुहारी
लागिपरेका छदैछन। तर ठिक उल्टो, अमृताहरुलाई हाम्रो
समाजले सहदैन। ती चढेकाबढेका हुन, कूलको बेइज्जत गर्ने निर्लज्ज मनुवा हुन, मै हु भन्ने बर्गका
खान्की हुन। तिनिहरु पितृसत्ता हावी
भएको घर परिवारमा सहजै अटाउदैनन् पनि।
इज् इट जस्ट अ स्ल्याप
देन?
दाम्पत्य जिवनका कतिपय नकारात्मक पक्ष र विसंगतिलाई दैनिक जिवनमा महिला र पुरुषले सामान्य रुपमा लिएका हुन्छन। बिहान बिहानै बिस्तरामा
पुग्ने चिया होस या अफिसका लागि तयार रह्नुपर्ने सुकिला पोशाक - ती सबलाई पुरुषले
सामान्यरुपमा आफ्नो अधिकार सम्झेका हुन्छन भने महिलाले कर्तब्यका रुपमा बुझेका
हुन्छ्न। गहिरिएर सोच्ने हो भने
पुरुषको त कुरा पर जाओस् स्वयं महिलाहरुले पनि सम्बन्धका विसंगति र असामान्य
कुराहरुलाई अमृताले जस्तै नजरअन्दाज गर्दै
हिडिरहेका हुन्छन्। थप्पड चलचित्रमा यस्ता
कैयौ सहज-सामान्य लाग्ने कुराहरु खासमा दुबैकालागि असामान्य र खतरनाक हुन्छन भनेर प्रष्ट्याइएको छ।
सुशीलामाथिको लात होस या अमृतामाथिको थप्पड़ – ती दुवै पति-पत्नी बिचको
घरेलु झगड़ाबाट उत्पन्न भएको साधारण परिस्थितिको द्धोतक हैन। त्यो लोग्नेको स्वास्नी विरुद्ध अचानक या अनायस उब्जेको क्रोधको नतिजा पनि होइन। बल्कि
ती लात र थप्पड पुरुषमा सदियौदेखि पालिएको श्रेष्ठताको बोध हो। पुरूषले सदा महिलालाई आफूभन्दा कमजोर देखेको र बाऊबराजुको जस्तै आफलाई घरको मालिक ठान्ने अहं हो। यो प्रवृत्ति लैंगिक
असमानताको यस्तो गुत्थी हो, जसलाई जन्मैदेखि परम्परा
र संस्कारको आवरणले बलियोसंग जोगाइएको हुन्छ। सारीको कुनामा गाठोंमाथि गाठों कसेर हराउन नहुने बस्तु झै सांचेर
राखिएको हुन्छ। ती गुत्थी, परम्परा र
संस्कारमा चुरलुम्म डुबेपछि हरकोहीलाई आफूमा बज्रिने थप्पड़, अपशब्द र लात सम्मिलित दाम्पत्य जिवन पनि स्वाभाविक लाग्दैजान्छ। कालान्तरमा त्यो सहज बन्दै जान्छ। मान्य बन्दै जान्छ। रीति परम्परा
बन्दै जान्छ।
सिलाबरको भाडालाई घोट्दा घोट्दा झिनो बनेझै सुशीलाहरु पनि सहनशीलताले मस्काउदा मस्काउदै झिनो
बन्दैजान्छन् । अलिअलि सहदै सुशीलाहरु कठपुतली बन्दैजान्छन् । आवेशमा बर्सेका अप्शब्दहरु विस्तारै थप्पडमा परिणत हुदैजान्छन। सहनशीलतामा त्रिप्ती खोज्दा खोज्दै सुशीलाहरु आउदो पिढीका
छोरीबुहारीलाई अन्याय सहन उत्पेरित गर्ने
अपराधमा निपुण बन्दैजान्छन्।
अन्त्यमा,
तल थप्पड चलचित्रबाट, त्यो पनि दुई
महिला बिचको सम्वादमा घोत्लिन यहाँहरुलाई अनुरोध गर्दै यो विषय अहिलेका लागि यत्ति नै –
वकील - एक औरत को अपना घर जोड़े रखने के लिए थोड़ा बर्दाश्त
करना पड़ता है...
अमृता
- जिस चीज को जोड़ना पड़े मतलब वो पहले से ही टूटी हुई है!